पत्थर छिचोल्दै सडक खन्दै

सिलिचोङ । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका अति दुर्गम मध्ये एक हो । यहाँको विकट भौगोलिक अवस्थाकै कारण पुर्वाधार विकास फलामको चिउरा चपाउनु सरह बनेको छ ।

यद्धपी यहाँका जनप्रतिनिधी, कर्मचारी र उपभोक्ताहरु बलवुत्ताले भ्याएसम्म प्रयासमा जुटेका छन् । हिजोको डुम्मा भिर छिचोल्नेदेखि अहिलेसम्म सम्पन्न भएका केहि योजनाहरु यसका उदाहरणहरु हुन् । हालै सम्पन्न भएको सिलिचोङ गाउँपालिका २ बालाको साफुम्लादेखि वडा कार्यालयसम्मको सडकको ट्रयाक ओपन पनि एक उदाहरण हो ।

करिब २ हजार मिटर लम्बाई रहेको उक्त सडक चट्टानै चट्टान छिचोलेर खनिएको थियो । उक्त सडकको ट्रयाक खोल्ने क्रममा बेस्कु खोलासँगैको पत्थर चुनौतिको विषय थियो । स्थानीय प्रेमकुमार राई र चिरन्जीवी राईको अध्यक्षतामा गठन गरिएको दुई उपभोक्ता समितिले सो आयोजना सम्पन्न गरेका थिए । सुरुमा प्रयोग गरिएको डोजरले रक कटिङ गर्न नसकेपछि पछि अर्को डोजर ल्याएर सडकको ट्रयाक ओपन कार्य सम्पन्न गरिएको स्थानीय उपभोक्ताहरु बताउछन् ।

जनश्रमदान सहित ४० लाख रुपैयाँको लागतमा वडा कार्यालयसम्म खन्नु पर्ने सडक लक्ष्यभन्दा साढे सात सय मिटर थप खनिएको छ । उपभोक्ता समितिले वडा कार्यालयदेखि स्वास्थ्य चौकीसम्म थप ट्रयाक ओपन गरिएको छ । उक्त सडकको अनुगमन गर्न पुगेका गाउँपालिका प्रमुख रामबहादुर कुलुङ लगायतका जनप्रतिनिधीहरु, प्रमुख प्रशासकिय अधिकृत रामराज पौडेल लगायतका कर्मचारीहरुले पनि उक्त कामको प्रसंसा गरेका छन् । ‘कडा चट्टान भएको बेस्कु खोल्सा कट्न नसक्लाकी भन्ने चिन्ता थियो, तर यो सम्भव भएको छ, तपाईहरु सवैलाई धन्यवाद’, गाउँपालिका प्रमुख कुलुङले भन्नुभयो ।

यो सडकको ट्रयाक ओपन सम्पन्न भएसँगै स्वास्थ्य चौकीको भवन निर्माण कार्यले पनि निकास पाएको छ । वडा कार्यालयसँगैको जग्गामा स्वास्थ्य चौकीको भवन निर्माणको लागि स्वास्थ्य मन्त्रालय अन्तर्गत संघिय आयोजना कार्यन्वयन ईकाईबाट तीन करोड रुपैयाँ बजेट प्राप्त भईसकेको छ । भवन निर्माणको लागि ठेक्का लागिसकेकोले अव तत्कालै निर्माण कार्य सुरु हुने वडा नम्बर २ का अध्यक्ष मोहन संशेर कुलुङले जानकारी दिनुभयो ।

ट्रयाक ओपन गरिएको सडकको जनप्रतिनिधी र कर्मचारीहरुले अवलोकन गर्दै गरेको केहि तस्विरहरु यहाँ हेरौं ।

 

 

तपाईको प्रतिक्रिया

सबै

सम्बन्धित समाचार