कुलुङ जाति र अल्लोको सम्बन्ध


समग्र आदिवासीको जीवन शैली प्रकृतिमा आधारित रहेको हुन्छ । त्यस्तै कुलुङ जाति पनि पूर्णरुपले प्रकृतिसंँग खेल्दै/हुर्कँदै आएको जाति हो भन्दा अचम्म नमान्नु होला ! भनी पाठकहरुलाई आग्रह छ । त्यसमा पनि अंग्रेजी भाषामा ‘हिमालयन जायन्ट नेटल’ अनि ठेट नेपाली भाषामा ‘भाङ्ग्रे सिस्नो’ कुलुङ जातिको मातृभाषामा ‘जाखिल्लमा’ भनिने अल्लोसँग त झनै घनिष्ठ सम्बन्ध रहेको छ । कुलुङ जातिको धर्म भनेको, संस्कार संस्कृति भनेको बितेर गएका आफ्ना पूर्खालाई सम्झनु, प्रकृतिलाई पुज्नु (एनिमिज्म) हो । त्यस अन्तर्गत भूमि, डाँडाकाँडा, वनजंगल, बोटबिरुवा, खोलानाला, ताल, पोखरी आदिको पूजा गर्ने हो ।

बोटबिरुवाहरुको कुरो गर्दा अल्लो, भाँग्रे सिस्नो) कुलुङ जातिको मातृभाषामा ‘जाखिल्लमा’को महत्वपूर्ण र पवित्र बिरुवाको रुपमा रहेको । किनभने कुलुङ जातिमा ‘जाखिल्लमा’ परम्परादेखि नै प्रयोग हुंँदै आएको छ । कुलुङ जातिको लोककथामा वर्णन गरिए अनुसार ‘कुलुङ जातिका पूर्खाहरुले आफ्नो शरीर ढाक्नका लागि सबैभन्दा पहिले यही अल्लोे अर्थात् ‘जाखिल्लमा’को बोट काटेर बोक्रालाई छुट्छयाएर धागो कातेर लुगा बुनेर लगाए ।’ त्यस्तै ‘जाखिल्लमा’बाटै विभिन्न सृङ्गारका सरसामान बनाउने, नाम्लो बुनेर प्रयोग गर्ने, डोरी बाटेर गाई–वस्तु बांँध्ने आदि गर्दथे । यो चलन हालमा पनि निरन्तर रहेको छ । हुन पनि सोलुखुम्बु र संखुवासभा जिल्लाका कुलुङहरु सन् १९९० सम्म पनि अल्लोको कपडामै निर्भर रहेका थिए भने अझै पनि यी जिल्लाका कतिपय गाउँहरुमा ‘जाखिल्लमा’बाट बुनेकै कपडाहरु लगाइने गरिन्छ । मुख्य गरेर हाल पनि अल्लोको धागोवाट बुनेको फेंगा (ओन्चे), पगरी (तोङ्रिम्मा), गलबन्दी (पैरिम्) सुरुवाल, पटुका (थाप्री) धोती (वोम्रो), कन्धनी (बुन्छारी) आदि कुलुङ जातिका पुरुषले लगाउने गरेका छन् भने उलुम्मा, लो, लालाचार (लुक्सपा), ओन्चे (फेंगा), तोङरिम्मा (टाउकोमा लगाउने), हेम्बारी (छात्तीमा बांध्ने–जाडोमा, नानी वोक्ने आदिका लागि), ताकिपेम (केश बांध्ने) आदि कुलुङ जातिका महिलाहरुले लगाउने गर्छन् । कुलुङ समुदायको धर्म, संस्कार, संस्कृति आदिमा पनि अल्लो अर्थात् जखिल्माको महत्व रहेको छ । किनभने कुलुुङ जातिमा मानिस जन्मेदेखि मृत्युसम्मको कुनै पनि संस्कारमा यो अल्लो अर्थात् जखिल्माका नभई हुँदैन ।

जस्तै कुलुङ जातिमा वच्चा जन्मीसकेपछि नाइटो काटेपछि अल्लोको धागोले बांँध्ने, अल्लोकै कपडाले बच्चालाई बेर्ने, त्यस्तै अल्लोकै कन्धनी लगाइदिने अल्लोकै कपडा वा धागोको धुप बाल्ने, अल्लोकै थाङ्नामा सुताउने गरिन्छ । त्यस्तै कुलुङ जातिको मृत्यु संस्कारमा अल्लोको धागो र अल्लोको कपडा अनिवार्य चाहिन्छ । शुभकार्य लगायत पूजा–आजामा पनि अल्लोको धागो र कपडा प्रयोग नभई हँदैन । जस्तै कुलुङ जातिले ‘देदाम’ भन्ने पूजा गर्दा अल्लोबाट बनेको दक्खु÷दोक्खु नामक कपडाको प्रयोग, मोबो गर्दा (पूजाथान छोप्ने कपडा) पनि अल्लोबाट बुनेकै कपडा प्रयोग गरिन्छ । यसरी हेर्दा अल्लो र कुलुङ जातिको सम्बन्ध अति नै नजिक रहेको देखिन्छ । हिन्दु धर्म मान्नेहरुले गाईलाई पवित्र माने झैं कुलुङ जातिले पनि अल्लो अर्थात् जाखिल्मालाई पवित्र वस्तु मान्छन् । तर, फरक के छ भने, जसरी हिन्दु धर्म मान्ने वर्गले गाई हाम्रो पवित्र जनावर हो । त्यसैले गाई नमार, नकाट भनेर र, गाई मारे वा काटेमा १२ वर्ष जेल हाल्ने कानुन बनाएरै जेलमा काच्छन्, कुलुङ जातिले भने अल्लो अर्थात् जाखिल्मालाई नकाट वा अरुले अल्लोको व्यवसायिक खेती नगर भनेर कसैलाई पनि वाधा–व्यवधान सिर्जना गर्दैनन् । बरु उनीहरुले अल्लोलाई आय आर्जनको राम्रो माध्यम बनाएका छन् ।

भन्ने नै हो भने, अहिले कुलुङ जातिका कतिपय घरपरिवारको नगद आर्जन गर्ने राम्रो श्रोतको रुपमा रहेको छ । कुलुङ जातिको जीवनचक्र, धार्मिक र संस्कृति कार्यमा आधारित शीप र हस्तकला अल्लो अर्थात जाखिल्मा नै रहेको छ । कुलुङ समुदायको संस्कार संस्कृतिमा पनि अल्लोको महत्वपूर्ण स्थान रहेको छ भनी माथि नै उल्लेख भएको छ । हुन पनि कुलुङ समुदायमा मानिस जन्मदेखि मृत्युसम्मको कुनै पनि संस्कारमा अल्लो नभई हुँदैन । नानी (बच्चा) जन्मेपछि नाइटो अल्लोको धागोले बांँध्ने, कम्मरमा अल्लोकै कन्धनी बेर्ने, अल्लोकै कपडा वा धागोको धुप बाल्ने, अल्लोकै थाङनामा सुताउने गरिन्छ । साथै मृत्यु संस्कारमा पनि अल्लोको धागो र अल्लोको कपडा आवश्यक पर्दछ । त्यसैले अल्लोलाई कुलुङ समुदायमा अति नै पवित्र वस्तुको रुपमा मान्ने गरिन्छ ।

अहिलेको आनुधिक जमाना भने व्यवसायीक रुपमा कपडा, पर्दा, तन्ना, झोला, लेडिज ह्यान्ड ब्याग, ह्यान्डी क्र्याप्mट लगायत सामग्री अल्लोजन्य पदार्थबाट बन्ने गरेकोे छ । खासगरी अल्लोको रेसा तथा रेसाजन्य वस्तुलाई प्रशोधन तथा उत्पादनको प्रमुख स्रोत अर्थात् म्याटेरियल मानिन्छ । यस कार्यका लागि हाल ‘हिमालयन नेचुरल फाइवर फाउन्डेसन’ र ‘नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ’ लगायत अन्य संघ–संस्थाहरु संस्थागत ढंगले नै संलग्न रहेका छन् । मुख्य गरेर हिमालयन नेचुरल फाइवर फाउन्डेसनले अल्लो र यसको रेसाजन्य वस्तु उत्पादन तथा प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यसरी नै अल्लो र अल्लोको रेसाजन्य सामग्री उत्पादन तथा प्रवद्र्धनमा मेडेप नामक गैरसरकारी संस्थाले पनि आफ्नै ढंगले प्रयत्न गरिरहेको छ ।

अल्लोको दीगो विकास, व्यवस्थापन, प्रविधि हस्तान्तरण, उद्यम विकास आदिका लागि तालिम, जीविकोपार्जनका लागि वन कार्यक्रम आदिसँंग मिलेर पर्वत, वागलुङ, म्याग्दी आदि जिल्लामा कार्यक्रमहरु संचालन गरिएका छन् । साना तथा घरेलु उद्योग र जिटिजेटको सहकार्यमा विगतमा रुकुम र रोल्पा जिल्लामा पनि अल्लो प्रवर्दनका लागि छलफल र तालिम आयोजना गरिसकिएको बताउनु हुन्छ, ‘हिमालयन नेचुरल फाइवर फाउन्डेसन’का कार्यकारी निर्देशक इन्द्र होनित्ति कुलुङ । कुलुङका अनुसार अल्लोकोे रेसावाट उत्पादित धागो तथा कपडाहरुबाट विभिन्न सामाग्री उत्पादन तथा सप्लाई गर्ने संस्थाहरुमध्ये एक ‘निनाम रिदुम जैविक हस्तकला’ (Ninam Ridum Bio-Handicraft) प्रमुख हो । उहाँका अनुसार यसबाहेक होमनेट नेपालले पनि अल्लोको रेसाबाट उत्पादित कपडाबाट हस्तकला निर्माण गर्ने र बेच्ने कार्य गर्छ । अल्लोको रेसावाट बनेका सामग्री बिक्री वितरण गर्ने अन्य संस्थाहरुमा महागुठी, साना हस्तकला संघ, हस्तकला उत्पादक संघ आदि पनि रहेका छन् ।

तपाईको प्रतिक्रिया

सबै

सम्बन्धित समाचार