कारागारभित्रै कैदीबन्दीले आत्महत्या गरेको विषयमा छानबिन हुँदै



रौतहटको सदरमुकाम गौरस्थित कारागारभित्रै एक कैदीबन्दीले झुन्डिएर आत्महत्या गरेको विषयलाई लिएर राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिले छानबिन गरेको छ । सो घटनालाई लिएर स्थानीय जनप्रतिनिधिको टोलीले पनि स्थलगत अध्ययन गरी विभिन्न व्यक्तिसँग सोधपुछ गरेको छ ।

कारागारमा बन्दी जीवन बिताउँदै आएका लडाई साह गत बुधबार कारागारभित्रै झुण्डिएको अवस्थामा मृत फेला गरेका थिए । उनीमाथि अपहरण, शरीर बन्धक र जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत रौतहटले २१ वर्षको जेल सजाय तोकेको थियो ।

२०७६ वैशाख ४ गतेदेखि कैदी जीवन बिताइरहेका उनले जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन दिएका थिए । देवाही गोनाही–७ निवासी साहले आत्महत्या गर्नुपर्ने कारण नरहेको भन्दै परिवारजनले घटनाको वास्तविकता बाहिर ल्याउन माग गरेपछि विभिन्न तहबाट अध्ययन तथा अनुसन्धान हुन थालेको हो ।

मृतकका परिवारले बिहीबार जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला कारागार गौर कार्यालय अगाडि घटनाको सत्यतथ्य छानबिन र दोषीमाथि कारवाहीको माग गर्दै प्रदर्शन गरेका छन् । मृतक साहकी श्रीमती सीमादेवी साहले कारागारका नाइकेहरूले आफ्नो पतिको हत्या गरेको आरोप लगाएकी छन् ।

घटनाका बारेमा राष्ट्रिय मानवअधिकार आयोगको प्रादेशिक कार्यालय जनकपुरको एक टोलीले कारागार निरीक्षण गर्दै कारागारका नाइके विक्की सिंह सहितका व्यक्तिसँग सोधपुछ गरेको छ । देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेल, उपमेयर परनियादेवी पटेलसहित चार जना जनप्रतिनिधिले पनि घटनास्थलको निरीक्षण गरेका छन् ।

कारागारमा कैदी बन्दीको मृत्युका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी विनोद घिमिरेले बताए । पोष्टमार्टमको रिपोर्टपछि घटनाका बारेमा थप बताउन सकिने उनको भनाइ छ ।

यसैबीच नेकपा एमालेका नेता प्रभु साहले पनि उनको कथित आत्महत्यामा प्रश्न उठाएका छन । उनले घटनाको उच्चस्तरीय छानबिन हुनुपर्ने माग गरेका छन् ।

लडाई साहले बुधबार कारागारको शौचालयमा घाँटीमा गम्छाको पासो लगाई आत्महत्या गरेको कारागार प्रशासनको भनाइ छ । उनलाई २०७५ साल माघ २६ गते नाबालिग अपहरण गरेर भारत पु¥याएको आरोपमा ईलाका प्रहरी कार्यालय गरुडाले नियन्त्रणमा लिएको थियो ।

 

 

 

सम्बन्धित समाचार