दुर्लभ र लोपोन्मुख पानीमकै : जुम्ली मार्सी धानभन्दा कम छैन



अचम्म यही पोखरीको वरिपरिका पखेरा बारीहरुमा संसारमा अन्त काहीँ नपाइने पानी मकै फल्छ।पानीमकै जेठ महिनामा छरेर जरामा धान खेतीमा जस्तै पानी लगाइन्छ । धानमा जस्तो जमाउने र गहूँमा जस्तो पटाउने,फूलमा जस्तो माथिबाट छर्किने होइन ।पानीमकै त छड्के ,करालो ,ओरालो पाखा ,सुर्के गरामा छरिन्छ र खोलाबाट दर्जनौकुलो लगेर जरामा छाँगाले ठोक्किने गरी बगाइन्छ ।

भ्याए एकपल्ट गोडिदियो नभ्याए पनि छरेपछि भाँच्न जाँदा मुठ्ठीमा घोगा आउँछ । गोडेको र नगोडेकोमा अलि फरक पर्छ। गोडेपछि केही समय पानी लगाइन्न । बेलाबेलामा कुलो मारिन्छ । मकैका दाना लागेर रस पसिसक्यो अब १० आठ दिन पछि भाँच्ने हो भन्दा पानी मारिन्छ । झार हानेर जमरा आएपछि पानी मारिन्छ जरा बलियो हुन्छ अनि पानी लगाउन थालिन्छ । दुइ चोटी गोडेको राम्रो फल्छ । रोपेको छ महिनातिर असोज ,कार्तिकमा थन्क्याइन्छ ।

ठुला र मसिना गेडाहरु हुने पानी मकैको रङ्ग सेतो रातो र खोया अलि पातलो ,खोसेल्टा हल्का र नरम ,जुँगा छोटा,बोट अग्लो , साना र जराहरु भने तीन तहसम्म उम्रिएर जमिन समातेको पाइन्छ ।पानीमकै चपाउदा कमलो,रसिलो ,पोषिलो ,स्वादिलो हुन्छ । भुट्दा भररर फूल उठ्नु यसको बिशेषता हो । रातो मकै खाँदा औषधि हुन्छ । पोल्दा अरुभन्दा छिटै पाक्नु ,चामल बनाएर भात खाँदा पनि मार्सीको भातजस्तो स्वादिलो हुनु यसको बिशेषेता हो ।

पानीमकै फल्ने ठाउँहरुमा अलैँची सप्रिने भएकाले अलैँची पानी मकैको सौता बनेको कारण पानीमकै लोप हुने खतरा छ । चिचिला गाउँपालिकाले पानीमकै संरक्षण समिति बनाएर ,पानीमकै उत्पादन क्षेत्र बनाएर ,बीउ संरक्षण कार्यक्रम राखेर यही मत्श्यपोखरी वरिपरिका एक डेढसय रोपनी जगामा मात्र खेती हुन्छ ।

प्रचारप्रसार , बजार र कृषकहरुमा ज्ञानको अभावमा संसारमा नपाइने सङखुवासभाको मकालु र चिचिलामा मात्र पाइने पानीमकै अब मकालुबाट पनि बिस्थापित भयो । चिचिला १ बाट पुरै बिस्थापित भएर अब चिचिला ४ मत्श्यपोखरी, धजे र जलजलामा मात्र संरक्षित छ । लोपोन्मुख दुर्लभ पानी मकैको प्रचारप्रसार गरेर जुम्ली मार्सी जस्तै किन नबनाउने ?

सम्बन्धित समाचार