चिचिला मत्स्यपोखरी साहित्यिक महोत्सव आज



संखुवासभा । जिल्लाको चिचिला गाउँपालिका–४ मत्स्यपोखरीमा आज साहित्यिक महोत्सव हुने भएको छ । महोत्सवको सम्पुर्ण तयारी पुरा भएकोको मकालु साहित्य समाजका अध्यक्ष ताराबहादुर बुढाथोकीले जानकारी दिए ।

महोत्सवका लागि साहित्यकार, कलाकारहरु आइसकेको र आवश्यक तयारी समेत पुरा गरिसकिएको अध्यक्ष बुढाथोकीले बताए । मकालु साहित्य समाज संखुवासभाको आयोजनामा साहित्यक तथा साँस्कृतिक कार्यक्रम ३ गते दिउँसो हुने बुढोकीले बताए । अग्रज साहित्यकार, कलकार र संस्कृतिविद्हरुको उपस्थितीमा कार्यक्रम हुने उनको भनाई छ ।

मत्स्यपोखरीमा नवनिर्मित मूर्तिहरुको ७ दिने प्राण प्रतिष्ठा कार्य आज विहान सक्ने तयारी रहेको छ । पोखरी आसपास बसाहा, शिवलिङ्गको नवनिर्मित मूर्तीहरुमा प्राण प्रतिष्ठा गर्न ५ जना पुरोहितहरुले गएको कार्तिक २७ गतेदेखि पुजा आरती गरिरहेका छन् । सोही अवसरमा आज पालिकाभर छरिएर रहेका सामुदायिक बिद्यालयका करिव १ सय ५० जना जग्गादाताहरुलाई सम्मान गर्ने भएको छ ।

मत्स्यपोखरीमा साहित्यिक मेला किन ?

चिचिला गाउँपालिका वडा नं। ४ को बिच भागमा घुम्टोभित्र लुकेकी सुन्दरी स् मत्श्यपोखरी छ । पोखरीभित्र अनेकौ जलपरी छ । काठमान्डौबाट विमानमा गए तुम्लिङटारबाट ३० मिनटमा ट्याक्सी चढेर खाँदबारी बजार पुगिन्छ । बस चढेर गएमा धरानबाट धनकुटा, हिले ,मांमाया हुँदैअरुण किनारै किनार ७घन्टामा खाँदबारी पुगिन्छ ।

खाँदबारीबाट चिचिलासम्म बस पुग्छ र बस पुग्नलाई १ घन्टा लाग्छ । बासका झ्यालबाट,सिजनमा पांमा , सेकाहातिर पहेँला सुन्तला र धानका बालाहरु हेर्दै जान पाइन्छ छयाङ्कुटी डाँडा यहाँको इफल टावर हो ,बादल नलागेका बेला यहाँबाट मकालु, खेम्पालुङ्ग र कन्चनजङ्गाको मुस्कानलाई नजिकैबाट अनुभव गर्न पाइन्छ ।

छ्याङ्कुटीबाट चिचिला जाँदा गाडी कहिले बिशाल रुखका छाँयामा, कहिले घामका प्रकाशमा टिलिक्क टल्किँदै जान्छ र चिचिला बजार देखिन्छ। चिचिला डाँडो मिनीबजार चिचिलाको पालिका केन्द्रमात्र होइन दार्जिलिङको चौरास्ता जस्तै मनमोहक छ । ८८।६३ वर्गमिटर क्षेत्रफल रहेको चिचिला गाउँपालिका एउटै सानो सरल कृतिमा पूर्ण संसार देउ भनेजस्तै छ ।

चिचिला डाँडा कस्तो छ ?

यसपूर्व सम्माननीय राष्ट्रपतिबाट उद्घाटित मकालु हिरक महोत्सव आयोजना भएको चिचिला गापा। प्रदेश नं। १ कै सानो गाउँपालिका ,दिदिङ र मत्श्यपोखरी दुइ गाविस। समायोजन गरेर बनेको ।

चिचिला डाँडा गाउँपालिकाको केन्द्र ,गाउँपालिका अफिस रहेको ठाउँ,प्रहरी चौकी, सेन्चुरी बैकको शाखा र दुइओटा सुविधासम्पन्न होटल सहित २५ ओटा जति साना ठूला पसल भएको बजार,दायाँपटीको पाटोमा चिया बगान बायाँ पट्टिको पाटोमा अलैँची बगान छ।मौसम सफा हुँदा यहाँबाट उत्तरतिर मकालु हिमाल र खेम्पालुङ हिमालको चुली र पूर्वतिर जलजले हिमाल पर्वतमाला सहित देखिन्छ ।

चिचिला देखि देउरालीसम्म

डाँडाको राष्ट्रपति विद्यादेवी भन्डारीको बाहुलीबाट मकालु हिरक महोत्सव र मकालु हिरकपार्क उद्घाटन भएको चिचिला बजारमा नै हो । बजारबाट दापहनेपट्टि घुरबिसे र अर्खौले डाँडा कम्ता रमाइलो छैन । बजारबाट २०० मीटर उत्तरमा थुम्की छ , थुम्कीका डाँडाकाँडाहरु सम्याएर पालिका भवन निर्माणको लागि टार बनाइएको छ । दन्त्यकथामा राक्षसले डाँडाकाँडा सम्याउँछ भनेझैँ डोजरले सम्याएको यो डाँडो प्राकृतिक धरहरा नै हो ।

यस डाडाको एक छेउमा शिवालय मन्दिर बनाईएको छ । बुद्धपार्क र बलुथान टावर चिचिलाबाट १० मिनेट बसमा गएपछि आउने कुवापानीबाट देब्रेपट्टिी रेलिङहरु समातेर सिँढीहरु उक्लँदै २०० खुड्किला उक्लिएपछि शुरु हुन्छ । मकालु हिरक पार्क भने यहाँबाट आधाघन्टा बसमा गएपछि कप्दाने पोखरी किनारमा डाँडाहरु सम्याएर निर्माणाधीन छ । कप्दानेको एतिहासिकता र मनमोहक दृश्यले जसकसैको मनलाई सुम्सुम्याउँछ ।पल्लो छेउमा रहेको धजे डाँडा र देउराली बजार ,मांमायामाथि भाटभटेनी भन्ज्याङ्ग मनमोहक दृश्यावलोकनका लागि उत्तिकै शानदार छन् ।

केके छ चिचिला गाउँपालिकामा ?

दिदिङ्गको पाटोमा नागदह , कागुवा खोला ,मत्श्य ढुङ्गो, मधाने भिर, हाँडीखोपदेखि झ्याउँपोखरीसम्मको जैविक विविधता मनमोहक छ । नागदह कागुवा साँस्कृतिक संरक्षणको गुरुयोजना निर्माण भइसकेको र काम थाल्न बाँकि छ । मधानीको पोराजस्तो पाटैपाटा भएको मधाने भिर अनौठो छ । बिब्ल्याँटे अर्थात सोक्पा डुल्ने हाँडीखोपदेखि झ्याँपोखरीसम्म भालु,दुम्सी,मृग,रातोपाण्डा ,चितुवा,सालक,स्याल, फ्याउरा, हाप्सिलो लगायत अनेक प्रजातिका जनावरहरु ,चाँप,बज्राँठ,अर्खौलो,मुसुरे लगायत २५० प्रजातिका वनस्पति छन् । बिचमा जौबारीको मैदान छ ।

यसलाई वनविज्ञान अध्ययन प्रविधिक विद्यालय र वन्यजन्तु संरक्षण क्षेत्र , चिडिया खाना र बोटानिकल गार्डेनर्को रुपमा विकास गर्न सकिन्छ । दिदिङ्ग डाँडा गाउँ र आहालेमा बाल उद्यान बनाउन सकिन्छ ।दिदिङ्गमा लाग्ने अँधेरी बजारलाई साँस्कृतिक केन्द्रको रुपमा बिकास गर्न सकिन्छ ।

मत्श्यपोखरी पटिको पाटोमा बाँस्थलामा राम्रो चउर छ ,देविटारमा ओखाडा डाँडा छ । धजेडाँडा, घुरबिसे, अर्खौले, थुम्की,देउराली डाँडा, भाटभटेनी भन्ज्याङ्ग, खर्कुण्डे दह, कप्दानेपोखरी, करङसिङ छाँगा,मत्श्यपोखरी यहाँका पर्यटकीय स्थल हुन् ।

दुर्लभ अन्न पानीमकै, नेपालमामात्र पाइने लप्सी,ओखर, पाङ्ग्रा, बल्ढ्याङ्ग्रा ,जम्मू, मल्लिडो, इन्द्रेनी ,काफल, घोडाघोडी, अम्फी, बान्द्रे, ताडिका,भिरगौँडी, जुनेलो ,बेथु जस्ता अनौठा फलहरु पाइन्छन् । दश प्रजातिका बाँस,सात प्रजातिका केरा, सुन्तला, नस्पाति, कटहर, सिमलतरुल जस्ता फल र कन्दमूल पाइन्छ ।

कहाँ छ मत्स्यपोखरी :

चिचिलाबाट वानटेन ट्याक्सीमा चढेर तीन घुम्ती पार गर्दै दम्स्याइलो ओरालो झरेर हल्का करिमकरिम तेर्सो गएपछि ३० मिनेटमा पोखरीको किनारमा गाडी पुग्छ। हरियो दुबोले ढाकिएको मैदानमा ओर्ले पछि मैदानको किनारमा मत्श्यपोखरी छ ।

पोखरीको पश्चिमपट्टी पर्ने असाध्य सुन्दर दुबोले ढाकेको हरियो मैदानमा फुटबल पनि खेल्छन् । पश्चिम पट्टि ढुङेन ढाँण छ तर बिभिन्न प्रजातिका रुखपातले ढुङ्गाहरुलाई नदेखिने गरी छोपेको छ । पूर्वोत्तर पटि जालपा देवीको मन्दिर छ । दक्षिणपूर्वमा बढेमानका पत्थर कुँदेर बसाहा ,शिवलिङ्ग ,महादेवका आकृतिहरु कुँदिएको छ । पश्चिमपििछ बिशाल प्रस्तरमा बुद्धको प्रतिमा खोपिँदै छ । पोखरीको डिलमा महादेवको मन्दिर छ ।

दक्षिणपट्टि पोखरीको निकासबाट निसृत कन्चन र निर्मल पानीको केही अंश उपयोग गरेर पन्चधारा बनाइएको छ । पोखरीको वरिपरि अत्यन्ता राम्रो वाल छ र रेलिङले बारेको छ । रेलिङको वरिपरि विभिन्न प्रजातिका फूलहरु रोपिएका छन् । पोखरीको पश्चिम पट्टि मैदानको एकस्टेप मुनि पाटी र लामो फलैँचा पनि छ । यहाँबाट दृश्यावलोकन र छयाङ्कन राम्रोसँग गर्न सकिन्छ । चलचित्र छयाङ्कन गर्न जाने हो भने यो पर्यावरणलाई स्वर्गको दृश्य भन्न पनि सकिन्छ ।

मत्स्यपोखरी ओरिपरि गुरुङ जातिकोमात्र बसोबास छ ।अधिकांश लेगइ गुरुङ,घ्याब्रे गुरुङ ,कोके ,धिमल,पेलेथरका गुरुङको बसोबास छ । घ्याब्रे गुरुङहरुको किरिया कर्ममा लामाले एकपाटे ढ्याङ्ग्रो ठोक्ने र खरानी बुकाउने अनौठो सँस्कृति छ । पोखरी वरिपरि गुरुङहरुको ७१ घर छन् ।१ घर दर्जीको,एक घर विश्कर्माको र एक घर निरौला ब्रम्हणको पनि छ । दुईचार पसलहरु छन् ।

लेगइ गुरुङहरु यहाँका जिम्मावाल थिए । लृगइ गुरुङहरुको पुर्खा चन्द्रबहादुर लेगइ सर्बप्रथम दैवी शक्ति प्राप्त पुजारी थिए । उनले नै सर्बप्रथम मछैपोखीका देवी देवताहरु पत लगाएका र स्थापित गरेका हुन् । उनी ९४ बर्षमा स्वगैबासी भएपछि अरु कुनै पूजारीहरु उत्पत्ति भएका छैनन् । उनका अनुसार देवदूतका रुपमा यहाँ माछाहरु आएका हुन् ,आजसम्म यही मान्यता रहेको छ । उनका अनुसार तीर्थयात्री एवम् पर्यटकहरुले यहाँको पोखरीमा सेतो माछा देखे शुभ हुन्छ भनने मान्यता पनि छ ।

पहिले पूरै सेतो रङको माछा देख्न पाइनथ्यो तर अझै पनि सेतो शरीर, सेतो पुच्छर,सेतो जीउ आँशिक सेतो भएको देख्न पाइन्छ ।

कस्तो छ मत्स्यपोखरी ?

पोखरीको पानीले लगभग ६ रोपनी क्षेत्रफल ढाकेको छ । वल्ला छेउमा ३० मिटर चौडाइ छ,पल्ला छेउमा १०मिटर छ । ३० मिटर चौडाइ भएको भागको लम्बाई ३० मिटर र क्रमशः घट्दै गएको लम्बाइ ५० मिटर गरी ८० मिटर लम्बाइ छ । गहिराइ चाहिँ वल्ला छेउमा साढे चार फिट बिचमा ७ देखि दश फिट र पल्ला छेउतिर पौडिन नसक्ने मान्छे जान सक्दैन । जलाशय बाहेकको भाग बोजोले ढाकेको थियो । २०४४ साल कुसे औसीका दिनदेखि यो पोखरीमा सफाइ अभियान शुरु गरिएको हो ।पानी नीलो ,कन्चन र शीतल छ । सफा यति छ कि माछाहरु नाचेको बाहिरबाट छर्लङ्ग देखिन्छ । सभाखोलामा पाइने असला माछाको बीउ यहीाबाट उत्पत्ति भएको भनिन्छ ।

राता,पहेँला,छिरबिरे र कल्सौदा हल्का कालो रङका माछाहरु पाइन्छ । भुरा देखि निकै ठूला माछा पनि छन् । वजनबाट भन्दा डेढ किलो सम्मका माछा पनि देखिन्छन् ।सबै आकारमा माछा छन् । हजारभन्दा बढी नै सङ्ख्यामा होलान् । भुजा चामल आदि लगेर पोखरीमा हालेपछि सारा माछाहरु बिटो परेर आउँछन् । डल्फिनजस्तो पानीको सतहमाथि पनि पो नाच्दै चारो लिन्छन् । माछाहरु भाग्दैनन् । मार्न पनि पाइन्न । मा¥यो भने असिना,पानी, बाढी ,पहिरो, महामारी हुन्छ पनि भन्छन् ।

२०४७को चुनावमा एउटा स्थापित राजनीतिक दलका कार्यकर्ताले माछा मारेर सुकाएको आधाघन्टामा असिना पानी परेर मकै सोत्तर पारेको र यहीघटनालाई गीत बनाएर प्रचार प्रसार गरी उक्त दललाई अर्को दलले चुनाव हराएको त पङ्तिकारले प्रत्यक्ष देखेको हो । यसै गरी २०६२ तिर एकजना क्रान्तिकारी भौतिकबादी जनयोद्धाले माछा मारेरे हिँड्पछि आधाघन्टामा नै झोलामा बोकको ग्रिनेड अचानक पड्केर सुनार गाउँमा मृत्युभएको घटना अझै कसैले भुलेको छैन ।

पोखरीको निकास झण्डै ३०० मीटर झरेपछि सिँहदेवी देवीथान आउने देवीथानमुनि चाहिँ माछा मार्न पाइन्छ । यहाँका माछा मछेखोला, ओरङखोला,लङखुवा खोला,हुँदै सभाखोला पुग्छन् । अरुण ,सप्तकोशी ,गङ्गा नदी हुदैँ समुद्र्र पुग्दा हुन् र समुद्रबाट पनि खेल्दै यहा आउँदा हुन् । यो चक्र चल्दैन भन्न सकिन्न ।सबै माछा असला हुन् । करिब ४०० जति माछा पोखरीभित्र खेल्छन् ।हुरुरुको कप्दाने पोखरीबाट भूमिगत मार्ग हुँदै मत्श्यपोखरीमा आएको निकासले मत्श्यपोखरी बनेको हो भनिन्छ ।

के मागेको छ मत्स्यपोखरीले ?

दुनियाँमा माछा र पानी नभएका ठाउँमा मछेन्द्रनाथको मन्दिर छ । मछेन्द्रनाथको रथयात्रा गराइन्छ । प्राकृतिक माछा भएको मछेपोखरीमा भगवान्को प्रथम अवतार मत्श्यावतार रहेको छ । यहाँ मछेन्द्रनाथको मन्दिर र मछेन्द्रनाथको रथयात्रा गराउने हो भने धनकुटा,भोजपुर र तेह्रथुमदेखिका यात्रीहरुको ओइरो लाग्न सक्छ । प्रचार प्रसार गर्न सके चलचित्र निर्माताहरु पितृ स्वर्ग पुगेको दृश्य छयाङ्कन गर्न यहाँ आउँछन् ।

दुनियाँका मैहुँ भन्ने राष्ट्रका नागरिकहरुको लाम थामिनसक्नु हुन्छ । चिचिलाको मात्र होइन ,नेपालकै एउटा पर्यटन गन्तब्यको रुपमा बिकशित भई यो ठाउँ साँग्रिला बन्छ । स्थानीय स्तरमा रोजगारी र ब्यापार बृद्धि भई राष्ट्रिय आय बढ्दछ । मत्श्यपोखरी नेपालको पर्यटन मन्त्रालयको राष्ट्रिय गौरवको आयोजना भित्र पर्नु आवश्यक छ । साँस्कृति र धार्मिक महत्वका हिसाबले पनि यसको महत्व छ । मानिसहरु यहाँ बर्षेनी जनै पूर्णिमामा जनै धारण गर्न आउँछन् ।

काित्तक मङ्सिर महिनामा पर्ने तिहार पर्वपछिको पूर्णिमाका रात यहाँ परम्परागत मेला लाग्छ । मछेबजार भनेर सयौँबर्ष अघिदेखि लाग्न शुरु भएको यो मेला शेर्पाको स्यप्रु, तामाङको सेलो, लिम्बुको धाननाच, आर्यनको भजनकीर्तन, याम्फूको च्याब्रुम्,मारुनी जस्ता साँस्कृति नाचको मौलिक र जीवन्त प्रस्तुतिको रङ्गन्च पनि हो । मत्श्यपोखरी बौद्ध, किराँत र हिन्दू धर्माबलम्बीहरुको समान आस्था,विश्वास र सम्मानको धरोहर हो भने मछे मेला बहुल जातीय सँस्कृतिको गौरवमय विरासत हो ।

दुर्लभ र लोपोन्मुख पानीमकै : जुम्ली मार्सी धानभन्दा कम छैन

अचम्म यही पोखरीको वरिपरिका पखेरा बारीहरुमा संसारमा अन्त काहीँ नपाइने पानी मकै फल्छ।पानीमकै जेठ महिनामा छरेर जरामा धान खेतीमा जस्तै पानी लगाइन्छ । धानमा जस्तो जमाउने र गहूँमा जस्तो पटाउने,फूलमा जस्तो माथिबाट छर्किने होइन ।पानीमकै त छड्के ,करालो ,ओरालो पाखा ,सुर्के गरामा छरिन्छ र खोलाबाट दर्जनौकुलो लगेर जरामा छाँगाले ठोक्किने गरी बगाइन्छ ।

भ्याए एकपल्ट गोडिदियो नभ्याए पनि छरेपछि भाँच्न जाँदा मुठ्ठीमा घोगा आउँछ । गोडेको र नगोडेकोमा अलि फरक पर्छ। गोडेपछि केही समय पानी लगाइन्न । बेलाबेलामा कुलो मारिन्छ । मकैका दाना लागेर रस पसिसक्यो अब १० आठ दिन पछि भाँच्ने हो भन्दा पानी मारिन्छ । झार हानेर जमरा आएपछि पानी मारिन्छ जरा बलियो हुन्छ अनि पानी लगाउन थालिन्छ । दुइ चोटी गोडेको राम्रो फल्छ । रोपेको छ महिनातिर असोज ,कार्तिकमा थन्क्याइन्छ ।

ठुला र मसिना गेडाहरु हुने पानी मकैको रङ्ग सेतो रातो र खोया अलि पातलो ,खोसेल्टा हल्का र नरम ,जुँगा छोटा,बोट अग्लो , साना र जराहरु भने तीन तहसम्म उम्रिएर जमिन समातेको पाइन्छ ।पानीमकै चपाउदा कमलो,रसिलो ,पोषिलो ,स्वादिलो हुन्छ । भुट्दा भररर फूल उठ्नु यसको बिशेषता हो । रातो मकै खाँदा औषधि हुन्छ । पोल्दा अरुभन्दा छिटै पाक्नु ,चामल बनाएर भात खाँदा पनि मार्सीको भातजस्तो स्वादिलो हुनु यसको बिशेषेता हो ।

पानीमकै फल्ने ठाउँहरुमा अलैँची सप्रिने भएकाले अलैँची पानी मकैको सौता बनेको कारण पानीमकै लोप हुने खतरा छ । चिचिला गाउँपालिकाले पानीमकै संरक्षण समिति बनाएर ,पानीमकै उत्पादन क्षेत्र बनाएर ,बीउ संरक्षण कार्यक्रम राखेर यही मत्श्यपोखरी वरिपरिका एक डेढसय रोपनी जगामा मात्र खेती हुन्छ ।

प्रचारप्रसार , बजार र कृषकहरुमा ज्ञानको अभावमा संसारमा नपाइने सङखुवासभाको मकालु र चिचिलामा मात्र पाइने पानीमकै अब मकालुबाट पनि बिस्थापित भयो । चिचिला १ बाट पुरै बिस्थापित भएर अब चिचिला ४ मत्श्यपोखरी, धजे र जलजलामा मात्र संरक्षित छ । लोपोन्मुख दुर्लभ पानी मकैको प्रचारप्रसार गरेर जुम्ली मार्सी जस्तै किन नबनाउने ?

सम्बन्धित समाचार