हरेक वर्ष बल्झिने छिन्ताङ हत्याकाण्ड



कात्तिक महिना धनकुटाको खोकु, छिन्ताङ, आँखीसल्लावासीका लागि पीडा बोकेर आउँछ । अरू गाउँमा कात्तिक महिना लागेसँगै चाडबाड मनाउने तयारी हुन्छ, तर खोकु, छिन्ताङ, आँखीसल्लावासी भने ४३ वर्षअघि आफ्ना सन्तानले अनाहकमा ज्यान गुमाउनु परेको घटना सम्झेर आँशु बगाउँछन् । प्रजातन्त्र स्थापनाका लागि आवाज उठाएको आरोपमा २६, २७, २८ र २९ कात्तिक ०३६ मा खोकु, छिन्ताङ, आँखीसल्लाका १६ सर्वसाधारणले ज्यान गुमाएका थिए ।

वामपन्थी विचारधारामा आस्था राखेको र सरकार ढाल्न खोजेको भन्दै सरकारले नै तीन दिनको सुत्केरीसहित १६ जनाको हत्या गरेको थियो । यो घटनालाई छिन्ताङ हत्याकाण्डका रूपमा सर्वसाधारणले सम्झिन्छन् । यो घटनामा कतिले श्रीमान् गुमाए, कतिले श्रीमती गुमाएका थिए । अभिभावकविहीन हुने बालबालिका र केही अभिभावक सन्तानविहीनसमेत भएका थिए ।

तत्कालीन पञ्चायती सरकारले सर्वसाधारणलाई भीरबाट लडाएर, गोली हानेर र केहीलाई तमोर नदीमा बगाएर हत्या गरेको थियो । तत्कालीन समयमा धनकुटा मुगाका सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । सरकारको ठाडो आदेशमा उनीहरूको हत्या भएको थियो ।

यी हुन् ज्यान गुमाउने सहिद
प्रजातान्त्रिक आन्दोलनको क्रममा २६ कात्तिक २०३६ सहिदभूमि गाउँपालिका–१ का पुत्रमान थुलुङ राई, २७ कात्तिकमा सहिदभूमि गाउँपालिका–३ का गोपाल आनन्द राई, रणध्वज पुमा राई, लाखमान साधु राई, गम्भीरमान दमाई, टंकबहादुर विश्वकर्मा, धनवीर दर्जी, गंगाबहादुर तुप्रिहाङ राई, चन्द्रबहादुर दर्जी, रामकुमारी राईको हत्या भएको थियो । यस्तै सोही गाउँपालिका–१ का भैरवबहादुर खालिङ राई, बलबहादुर खत्रीको पनि २७ कात्तिकमा हत्या भएको थियो । पञ्चायती सरकारले सहिदभूमि गाउँपालिका–६ का केशरमान राई, गणेशबहादुर विश्वकर्मालाई भने २८ कात्तिक र सहिदभुमि गाउँपालिका–३ की श्रीमाया राई (हाङखिमा साइली) को २९ कात्तिकमा हत्या गरेको थियो ।

हत्या भएको ४१ वर्षपछि राहत
सहिदभूमि गाउँपालिका–६ का झगेन्द्र राईको भने १८ माघमा हत्या भएको थियो । छिन्ताङ हत्याकाण्डका सहिदहरूलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले २८ पुस २०७४ मा राष्ट्रिय सहिद घोषणा गरेको थियो । छिन्ताङ हत्याकाण्ड भएको ४१ वर्षपछि प्रदेश १ सरकारले गत वर्ष सहिद परिवारलाई प्रतिपरिवार पाँच लाखका दरले राहत वितरण गरेको थियो ।

४३ वर्षसम्म सहिद परिवारको अवस्था उस्तै
छिन्ताङ हत्याकाण्ड भएको ४३ वर्ष पुगेको छ । यतिका वर्ष बितिसके पनि अहिलेसम्म सहिद परिवारले राहत महसुस गर्ने गरी सरकारले कुनै कदम चालेको छैन । ‘हामी सहिद परिवारमा कुनै परिवर्तन आउन सकेन । किनकि राज्यले सहिद परिवार सम्झन ढिलो गर्‍यो । सरकारले दिएको राहत पर्याप्त छैन,’ सहिद परिवार संरक्षण समितिका अध्यक्ष एवं सहिद पुत्रमान थुलुङ राईका छोरा बलराम राईले भने । कम्तीमा सहिदका छोराछोरीलाई उच्च शिक्षासम्म निःशुल्क अध्ययन गर्ने व्यवस्था राज्यले गर्नुपर्‍यो । सहिद परिवारलाई एकीकृत बस्ती निर्माण रोजगारी व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । यसैबीच ४३औँ सहिद स्मृति दिवसको अवसरमा नेकपा एमाले धनकुटाले छिन्ताङको पञ्चकन्यामा सहिद स्मृतिसभा आयोजना गरेको छ ।

सम्बन्धित समाचार