मोरङस्थित ग्लोबल बायो इनर्जी इन्भेष्टमेन्टमा आगलागी



मोरङ । कटहरी गाउँपालिका ४ मा रहेको ग्लोबल बायो इनर्जी इन्भेष्टमेन्ट प्रालिमा आगलागी भएको छ। पुरानो टायर पघालेर फर्नेस आयल निकाल्ने कम्पनीमा बुधबार बिहान पौने ६ बजे आगलागी भएको हो। फर्नेस आयल उद्योगहरुमा इन्धनकोरुपमा प्रयोग गरिन्छ।

आगलागीबाट उद्योगमा कच्चा पदार्थकोरुपमा प्रयोग हुने पुराना टायर जलेर नष्ट भएको प्रहरीले जनाएको छ। यस्तै‚ टायरबाट तार निकाल्ने मेसिन र टायर काट्ने मेशिनहरुमा पनि क्षति पुगेको छ। उद्योग सञ्चालक बिनित सिंघानियाले विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरे।

उद्योगको स्क्रयाप वार्डमा राखिएका पुराना टायरहरु जल्न थालेपछि आगलागीले भीषण रुप लिएको थियो। विराटनगर महानगरपालिकाभित्रका दमकलले मात्र आगो नियन्त्रण हुन नसकेपछि रंगेली, बेलबारी, कानेपोखरीसहित सुनसरीको इनरुवा र दुहबी लगायतका स्थानीय तहहरुबाट समेत दमकल बोलाइएको उद्योग प्रशासनले जनाएको छ।

टायरहरुमा लागेको आगो पानीको फोर्सले मात्र निभाउन समस्या भएपछि स्काभेटर मगाएर टायरहरुको चाङलाई खोतलेर आगो नियन्त्रणमा लिइएको थियो। बिहान पौने ६ बजे लागेको आगो स्थानीयवासी, दमकल र प्रहरी प्रशासनको सहयोगबाट बुधबार ८ बजेपछि मात्र नियन्त्रणमा आएको थियो।

आगलागीबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी जनार्दन जिसीले बताए।

सम्बन्धित समाचार