प्रदेश १ मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै



विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले बुधबार विश्वासको मत लिँदैछन्। यसअघि मंगलबार प्रदेशसभा बैठक सुरु हुनासाथ स्थगित भएपछि प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिन पाएनन्।

प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी नेकपा ९एमाले०का सांसद उपस्थित नभएपछि सभामुख प्रदीपकुमार भण्डारीले सुरु भएको केही बेरमै बैठक स्थगित गरेका थिए। उनका अनुसार बुधबारको प्रदेशसभा बैठकमा राईले विश्वासको मत लिन लागेका हुन्।

पार्टीको अधिवेशनका लागि जिल्ला गएका आफ्ना सांसदहरु नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दका कारण उपस्थित हुन नसकेको भन्दै एमालेले बैठक र मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम स्थगित हुनपर्ने माग राखेको थियो। सांसदको अनुपस्थितिमा बैठकमा सहभागी हुन नसकिने अडानमा एमाले थियो। तर एमालेको माग विपरीत बैठक बस्यो।

प्रतिपक्षी सांसद उपस्थित नभएपछि सभामुख भण्डारीले मंगलबारको बैठक स्थगित गरेर बुधबार अर्को बैठक बोलाएका हुन्। बुधबारकै बैठकमा मुख्यमन्त्री राईले विश्वासको मत लिने बताइएको छ।

सम्बन्धित समाचार