सभामुखबाट प्रतिपक्षलाई साथ दिएर सत्ता पक्षलाई विभेद : मुख्यमन्त्री राई



विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले सभामुख प्रदीपकुमार भण्डारीमाथि प्रतिपक्ष एमालेलाई साथ दिएर सत्ता पक्षलाई विभेद गरेको आरोप लगाएका छन्।

मंगलबार प्रदेश १ को प्रदेशसभा बैठक स्थगित भएपछि सभाबाट बाहिरिने क्रममा पत्रकारसँग मुख्यमन्त्री राईले यस्तो बताएका हुन्।

उनले आजको नेपाल बन्द ९नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको० प्रतिपक्षको बहाना मात्र भएको दाबी गरे।

बन्दको बहाना बनाएर प्रतिपक्षीले दुःख दिने नियत राखेको र सभामुखले सो कदमलाई सघाएको आरोपसमेत उनले लगाए।

‘आजको बन्द त एउटा बहाना मात्रै हो, आज सर्वसाधारण पनि आवतजावत गरिरहेको सन्दर्भमा सांसदहरू आउन नसक्ने अवस्था पनि थिएन,ु उनले भने, ‘यदि कहीँ सूचित भएको भए सांसदलाई ल्याउन सरकारले बन्दोबस्त गर्ने पनि हो, त्यसकारण यो उहाँहरुको नियत खराब भएको कारण बन्दको बहानामा उहाँ अनुपस्थित भएको मात्रै हो।’

उनले कार्य व्यवस्था परामर्शको बैठकमा प्रतिपक्ष उपस्थित भएको र विश्वासको मत प्रस्ताव असफल बनाउने एमालेको नियत भएकाले उपस्थिति नजनाएको उनको आरोप छ।

सभामुख भण्डारीले जहिले पनि ४१ जना भनेर गनेको भन्दै मुख्यमन्त्री राईले निर्णायक अवस्थाबाहेक सभामुखले मत दिनै नपाउने हुँदा पनि सधैँ आफूलाई प्रतिपक्षी सांसदकै रूपमा गनेकोमा आपत्ति जनाए।

मुख्यमन्त्री राईले आज विश्वासको मत लिनेसम्बन्धी कार्यसूची सार्वजनिक भइसकेको बताउदै उनले पदमा नियुक्त भएको ३० दिनभित्र मुख्यमन्त्रीले जुन दिन चाह्यो– त्यो दिन विश्वासको मत लिन पाउने व्यवस्था रहेको उनले बताए।

उनले भने, ‘आजको बैठक सार्नुपर्ने कुनै कारण नै होइन। यो खाली दुःख दिने नियतमात्र भयो।’

संविधानमा पनि विपक्षी अनुपस्थित हुँदैमा विश्वासको मत लिन रोक्नुपर्छ भन्ने प्रावधान नरहेको बताउँदै उनले भने, ‘मुख्यमन्त्रीसँग निर्भर रहने कुरा हो यो व्यवस्था र वातावरण सभामुखले मिलाउनुपर्छ तर यहाँ त सभामुख र प्रतिपक्षी दललाई मन लागेन भने बैठक नै नबस्ने भन्ने जस्तो देखियो।’

सम्बन्धित समाचार