ट्याक्टर दुर्घटनामा बालकसहित दुई जनाको मृत्यु



विराटनगर । बेलबारीमा सोमबार राति ट्याक्टर दुर्घटना हुँदा एक बालकसहित दुई जनाको मृत्यु भएको छ । बेलबारी नगरपालिका–५ कसेनीमा को २ त ८६८८ नम्बरको ट्याक्टर राति ८ बजेतिर दुर्घटनामा परेको हो ।

दुर्घटनामा ट्याक्टरका सहचालक मोरङको रंगेली नगरपालिका–१ का २२ वर्षीय विजय हेमरन र ट्याक्टरमा सवार १५ वर्षीय बालक अविनाश मरन्डीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा विराटनगरको कोसी अस्पतालमा राति साढे १० बजेतिर मृत्यु भएको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्सपेक्टर चन्द्रबहादुर खड्काले बताए । उनका अनुसार खेत जोतेर फर्कदै गरेको ट्याक्टर आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको हो । स्थानीय इन्द्र दर्जीको खेत जोतेर फर्कने क्रममा ट्याक्टर सडकबाट पल्टिएर नहरमा खसेको खड्काको भनाइ छ ।

प्रहरीले ट्याक्टर र चालक रंगेली–१ का २७ वर्षीय आइत सतार टुडुलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ । चालकको साथमा सवारी चालक अनुमति पत्र ९लाइसेन्स० फेला नपरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उकालो कच्ची सडक पार गर्ने क्रममा आफै अनियन्त्रित भएर ट्याक्टर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सम्बन्धित समाचार