खाँदबारी–३ को वडा कार्यालयबाट १५० बढी विपन्नलाई निःशुल्क खाद्यान्न



खाँदबारी नगरपालिका वडा नं. ३ को कार्यालयले १ सय ५० भन्दा बढी विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ ।

मङ्गलबार वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी खाद्य सामाग्री वितरण गरिएको हो । प्रति परिवार १ बोरा चामल, नुन, चिनी, तेल, दाल र स्वास्थ्य सामाग्रीहरु रहेको खाँदबारी ३ का वडा अध्यक्ष भरत कुमार घिमिरेले जानकारी गराए ।

आरआरएन नामक गैर सरकारी संस्थाको सहयोगमा वडा कार्यालयलाई उपलब्ध भएको खाद्य सामाग्रीहरु पहिलो र दोस्रो चरणमा वितरण गरिने अध्यक्ष घिमिरेले बताए । यसपटक पहिलो चरणको खाद्यान्न वितरण कार्यक्रममा आरआरएन संस्थाका अध्यक्ष, संस्थापक एवम् पूर्व अमेरिकी राजदुत डा.अर्जुन कार्की, नेकपा एमाले सङ्खुवासभाका अध्यक्ष जीत बहादुर घिमिरे लगायतको उपस्थिती रहेको थियो । वडा अध्यक्ष भरत कुमार घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रम वडाका सचिब बुद्धि घिमिरेले सञ्चालन गरेका थिए ।

“तिहार अगाडि नै यो चामल, तेल, चिनी सेलरोटी पकाइखान पनि हुन्छ भनेर वितरणको तयारी गरिएको थियो ।” आरआरएनका अध्यक्ष डा. कार्कीले भने । “तिहार अगाडि खाद्यान्न वितरण गर्न सम्भव भएन र अहिले वितरण गरिएको हो ।” विभिन्न क्षेत्रबाट आरआरएनलाई सहयोग प्राप्त भएको खाद्यान्न वडा कार्यालयहरुमार्फत वितरण भइरहेको डा. कार्कीको भनाई छ ।

खाद्यान्न सहयोग गर्ने संस्थाहरुमा समाज कल्याण परिषद हरिहरभवन ललितपुर, जापान प्लेटफर्म, साप्ला निर कुपण्डोल ललितपुर समेत रहेका छन् । खासगरी कोभिड–१९ बाट प्रभावित संकटासन्न समुदायलाई स्वास्थ्य तथा खाद्य सहयोग प्राप्त भएको हो । वडास्तरीय विपन्न परिवारका अतिरिक्त मानेभञ्ज्याङका सुस्त श्रवण विद्यार्थीहरुलाई समेत खाद्यान्न वितरण गरिएको छ ।

वडामा कृषि बिषय अध्ययन गरिरहेका मानेभञ्ज्याङका बिद्यार्थीहरु र अन्य विपन्न परिवारहरुलाई थप खाद्य सामाग्री माग गरिएको वडा अध्यक्ष घिमिरेले बताएका छन् । हाल प्राप्त भएजत्तिनै खाद्य सामाग्री पुनः आवश्यक हुने वडाध्यक्ष घिमिरेको माग रहेको छ ।

 

सम्बन्धित समाचार