मत्स्यपोखरीमा नवनिर्मित मूर्तीको ७ दिने प्राण प्रतिष्ठा पुजा सुरु



संखुवासभा । सङ्खुवासभाको चिचिला गाउँपालिका ४ स्थित मत्स्यपोखरीमा नवनिर्मित मुर्तिको ७ दिने प्राण प्रतिष्ठा पुजा सुरु भएको छ । शनिबार देखि ७ दिनसम्म पुजा सञ्चालन हुनेछ । ५ जना पण्डित गुरुहरुबाट पुजापाठ सुरु भएको छ । यहाँ बसाहा, शिवलिङ्ग र गौतम बुद्धको नवनिर्मित मूर्तीहरुमा प्राण प्रतिष्ठा गर्ने भएको हो ।

मुर्ति निर्माण गरेर मात्र नहुने त्यसमा प्राणप्रतिष्ठा भर्नुपर्ने भएकाले कार्यक्रम आयोजना गरिएको गाउँपालिका अध्यक्ष पासाङ शेर्पाले बताए ।

यस्तै पुजा समापनका दिन अर्था मंसिर ३ गते सोही स्थानमा साँस्कृतिक तथा साहित्यिक महोत्सव हुने भएको छ । चिचिला गाउँपालिकाको सहयोग तथा मकालु साहित्य समाज संखुवासभाको आयोजनामा महोत्सव हुने भएको हो । घुम्टोकी सुन्दरी चिचिला नगरी : साहित्य सँस्कृतिको परी पर्यटकीय मत्श्यपोखरी नाराकोसाथ महोत्सव गर्न लागिएको समाजका अध्यक्ष तारा बहादुर बुढाथोकीले बताए । महोत्सवमा प्रमुख अतिथिका रुपमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गरुङ रहनेछन् ।

यस्तै बरिष्ठ साहित्यकार एबम् पत्रकार पुरुषोत्तम दाहाल, भरत गुरागाई, कविता राई लगायतका दर्जन कवि कवयित्रीको उपस्थिति रहने आयोजकले इमकालुलाई जानकारी दिए ।

मत्स्यपोखरी मेलामा त्यस क्षेत्रमा मात्र उत्पादन हुने पानीमकै र त्यसका परिकारहरुको स्वाद चखाउँने समेत कार्यक्रम तय गरिएको पालिका कार्यालयले जनाएको छ ।

सोही दिन चिचिला गाउँपालिकाले पालिका भित्रका जग्गादातालाई सम्मान गर्ने भएको छ । सांस्कृतिक तथा साहित्यक महोत्सवमा जग्गादातालाई सम्मान गर्न लागिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शुक्रादेवी राईले बताए । चिचिला गाउँपालिका भित्र सार्वजनिक प्रयोजनका लागि प्रदान गरिएका जग्गाका जग्गादाताहरुलाई सम्मान गरिने भएको हो ।

चिचिलामा विद्यालय, स्वास्थ्यचौकी, प्रहरी चौकी, वडा कार्यालय, गाउँपालिका कार्यालय लगायतका संरचना निर्माणका लागि करिब १ सय ५० बढीले निशुल्क जग्गा प्रदान गरेका छन् ।

 

सम्बन्धित समाचार