सडक नबनाएको भन्दै सवारीसाधनमा मन्त्री र कर्मचारीको फोटो टाँसेर विरोध



दोलखा । सडक विस्तारको काम अलपत्र पारेको भन्दै दोलखाका स्थानीय अगुवा तथा यात्रुहरूले मन्त्री, सचिव र महानिर्देशकको तस्बिरसहितको ब्यानर सवारीसाधनमा टाँसेर विरोध गरेका छन् ।

दोलखालाई राजधानीसँग जोड्ने मुख्य लामासाँघु(जिरी सडक अन्तर्गत मुडे(चरीकोट खण्ड विस्तारको काम ६ वर्षदेखि अलपत्र पारेको भन्दै फोटोसहितको ब्यानर सार्वजनिक यातायातमा टाँसेर विरोध गरिएको हो ।

सडक विस्तारका लागि दबाब दिन सार्वजनिक यातायातमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादव, मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ र सडक विभागका महानिर्देशक अर्जुन जंग थापाको फोटोसहितको ब्यानर दोलखा(काठमाडौं आउजाउ गर्ने सार्वजनिक यातायातमा टाँस्ने अभियान सुरु गरेको संघर्ष समितिका संयोजक चिरञ्जीवी मास्केले बताए ।

‘सरकार….मुडे चरिकोट सडक कहिले बनाउँछस् ? हाम्रो बिचल्ली कहिलेसम्म टुलुटुलु हेर्छस् ?’ लगायतका प्रश्न सोधिएका नारा ती ब्यानरमा लेखिएका छन् । ६ वर्षदेखि बिग्रिएको सडकका कारण नागरिकले दुःख पाएको भन्दै सांकेतिक रुपमा विरोध गरिएको मास्केले बताएका छन् ।

‘संघीय राजधानीमा जिम्मेवारी सम्हालेर बसेकाहरूको आँखा र कान खुलोस् भनेर झक्झक्याउन आन्दोलन थालेका हौं,’ मास्केले भने, ‘हाम्रो मागको सुनुवाइ नभए सरकारी सवारीसाधन गुड्न नदिएर अवरोध गर्छौं ।’

सडक विस्तार नभइन्जेल चरणवद्ध आन्दोलन गर्ने उनको चेतावनी छ। २ वर्षमा काम सक्नेगरी जिम्मा लिएको भारतीय निर्माण कम्पनी सकिल हैदर(शंकरमाली(सुनौलो खिम्ती जेभीले सडक विस्तारको काम अलपत्र पारेको भन्दै पछिल्लो समय स्थानीयहरू आन्दोलित बनेका हुन् ।

सडक विस्तारको काम अलपत्र पारेर निर्माण कम्पनी नै पटकपटक बेपत्ता भएपछि सडक थप बिग्रँदैगएको उनीहरूको गुनासो छ । निर्माण नै सम्पन्न नगरी छोडिदिँदा घाम लाग्दा सडकमा धुलो र पानी पर्दा हिलाम्मे हुनेगरेको जिल्लावासीहरू बताउँछन् । ठगी गर्ने कम्पनीलाई कारबाही गर्न नसकेको र सडक पनि सुधार गर्न नसकेको भन्दै यस क्षेत्रका यात्रुहरू सम्बन्धित मन्त्री तथा उच्च पदस्थ कर्मचारीविरुद्ध पनि आक्रोशित बन्ने गरेका छन् ।

यस्तै लामोसाँघु जिरी सडक अन्तर्गत दोस्रो खण्डको मुडेदेखि चरीकोटसम्म ३० किलोमिटर सडक २०७२ सालबाट विस्तारको काम सुरु भए पनि काम बीचमै रोकेर कम्पनी बेपत्ता भइदिँदा यात्रुहरूले सास्ती झेल्दै छन् ।

 

 

सम्बन्धित समाचार