चिचिलाः मत्स्यपोखरीमा राखिएको शिवलिङ्ग र बसाहको प्राणप्रतिष्ठा गरिदै



चिचिला । चिचिला गाउँपालिका ४ मत्स्यपोखरीलाई धार्मिक पर्यटकीय गन्तब्यको रुपमा विकास गर्दै लगेको गाउँपालिकाले त्यस परिषरमा राखिएको शिवलिङ्ग र बसाहको प्राणप्रतिष्ठा गरिने भएको छ । कार्तिक २७ गते सनिबारबाट पाँच पण्डितहरुले विधिपूर्वक एक हप्तासम्म पुजा गरि प्राणप्रतिष्ठा गरिने भएको हो ।

प्राणप्रतिष्ठा पुजा कार्तिक २७ गते विहान ७ बजेबाट सुरु भई मंसिर ३ गतेसमापन हुने गाउँपालिकाले जनाएको छ । मत्स्यपोखरी आफैमा दैविक शक्तिको केन्द्र रहेको र त्यसमा हिन्दु धर्मावलम्बीहरुको लागि पनि आस्थाको केन्द्रको रुपमा विकास गर्न शिवलिङ्ग र बसाहाको मुर्ति राखिएको गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पाले जानकारी दिए । एक हप्तासम्म लगाईने पुजामा आफ्नो अनुकुल मिलाएर भक्तजनहरुले दर्शन गर्न पाउने अध्यक्ष शेर्पाको भनाई छ । विधिपुर्वक गरिने प्राणप्रतिष्ठामा चिचिला गाउँपालिका लगायन अन्य क्षेत्रबाट समेत दर्शन गर्न आउनका लागि अध्यक्ष शेर्पाले अनुरोध समेत गरे ।

पुजाको समापनको दिन चिचिला गाउँपालिका भित्र सार्वजनिक प्रयोजनका लागि निशुल्क जग्गा दिने जग्गादाताहरुलाई सम्मानको कार्यक्रम राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुक्रादेवी राईले जानकारी दिए । गाउँपालिकाको विद्यालय, स्वास्थ्य संस्था, पालिका लगायतका संस्थाहरुलाई निशुल्क जग्गादान गर्ने करिव डेढ सय जनालाई सम्मान गरिने राईले जानकारी दिए । सम्मान ग्रहणका लागि दाताहरुले आफ्नो सम्बन्धित वडामा सम्पर्क गर्न प्रमुख प्रशासकीय अधिकृत राईले अनुरोध गरे । अशक्त र असहाय दाताहरु कार्यक्रम स्थलसम्म आउन र फर्किन समस्या हुने भएकोले निशुल्क आवतजावतका लागि सवारी साधनको ब्यवस्था गरिएको राईले बताए ।

समापनको दिन मंरि ३ गते साहित्यीक तथा साँस्कृतिक कार्यक्रम हुने गाउँपालिकाले जनाएको छ । चिचिला गाउँपालिकाको सहयोग तथा मकालु साहित्य समाज संखुवासभाको आयोजनामा कार्यक्रम हुने भएको हो । घुम्टोकी सुन्दरी चिचिला नगरी ः साहित्य सँस्कृतिको परी पर्यटकीय मत्श्यपोखरी नाराकोसाथ महोत्सव गर्न लागिएको समाजका अध्यक्ष तारा बहादुर बुढाथोकीले बताए । महोत्सवमा प्रमुख अतिथिका रुपमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गरुङ रहनेछन् ।

यस्तै बरिष्ठ साहित्यकार एबम् पत्रकार पुरुषोत्तम दाहाल, भरत गुरागाई, कविता राई लगायतका दर्जन कवि कवयित्रीको उपस्थिति रहने मकालु साहित्य समाजका अध्यक्ष ताराबहादुर बुढाथोकीले जानकारी दिए ।

भगवानको पहिलो अवतार भएको मत्स्यपोखरीलाई घुम्टोभित्रकी सुन्दरी नारा दिएर त्यहाँको प्रचार प्रसारमा जोड दिन कार्यक्रमको आयोजना गर्न लागिएको हो । जैविक विविधताको धनी चिचिला गाउँपालिकाको केन्द्र भागमा अवस्थित मत्स्यपोखरीसम्म सवारी साधनहरु पुग्न सक्छन् । जिल्ला सदरमुकाम खाँदबारीबाट एकदिन टुरमा निस्कन सहज यात्रा हुने मत्स्यपोखरी अब सुविधायुक्त ठाउँमा रहेको र त्यहाँ पर्यटन प्रवद्र्धन गराउँनु खाँचो रहेको साहित्यकार तारा बहादुर बुढाथोकीको भनाई छ ।

मत्स्यपोखरी मेलामा त्यस क्षेत्रमा मात्र उत्पादन हुने पानीमकै र त्यसका परिकारहरुको स्वाद चखाउँने समेत कार्यक्रम तय गरिएको पालिका कार्यालयले जनाएको छ ।

 

सम्बन्धित समाचार