झन्डै १५ किलो चरेससहित गोरखाबाट एक महिला पक्राउ



गोरखा । झन्डै १५ किलो चरेससहित गोरखाबाट एक महिला पक्राउ परेकी छिन् । जिल्ला प्रहरी कार्यालय गोरखाले १४ किलो आठ सय ग्राम चरेससहित धार्चे गाउँपालिका ४ लाप्राककी ४३ वर्षीया कोपिला गुरुङलाई पक्राउ गरेको हो ।

लाप्राकबाट छेवेटार आउँदै गरेको बा २० च ९३३२ नम्बरको जीपमा झन्डै १४ किलो परिमाणमा चरेस फेला परेको प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश दाहालले बताउनुभयो । अस्थायी प्रहरी पोस्ट चनौटेले हिजो बुधवार राति जाँच गर्ने क्रममा गुरुङले बोकेको पहेंलो रङ्गको बोराभित्र प्लास्टिकको थैलोमा छुट्टाछुट्टै पोका बनाइएको चरेस बरामद भएको उहाँले जानकारी दिनुभयो ।

पक्राउ परेकी गुरुङले आफ्नो बारीमा फलेको गाँजाबाट आफैँले चरेस उत्पादन गरेको प्रारम्भिक बयान दिएकी छन् । प्रहरीले लाप्राकमा रहेको उनको घरमा जाँच गर्दा थप चार सय ग्राम चरेस र तराजु बरामद गरेको दाहालले जानकारी दिनुभयो । उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतबाट सात दिनको समय दिइएको उहाँले बताउनुभयो ।

गुरुङ चढेर आएको जीप पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार