पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन नेविसङ्घको माग



काठमाण्डौ । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गरेको छ ।

नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले आज बिहीवार विज्ञप्ति जारी गरी १५ दिनको अन्तरालमा दुई पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेर नागरिकलाई मारमा पारेको भन्दै मूल्यवृद्धि फिर्ता लिन माग गर्नुभएको हो ।

‘ढुवानी खर्च वृद्धि भइ बजारमा उपभोग्य वस्तुको मूल्य वृद्धि हुने अवस्था सिर्जना गर्ने गरी भएको पेट्रोलियम पदार्थको मूल्य वृद्धिको निर्णयप्रति नेविसङ्घ खेद व्यक्त गर्दछ’, अध्यक्ष ढुङ्गानाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नेविसङ्घले नेपाल आयल निगमभित्रको बेथिति, अनियमितता र भ्रष्टाचारलाई छानबिन र नियन्त्रण गर्न माग गरेको छ । मूल्य वृद्धि खारेज नगरे नेविसङ्घले कडा आन्दोलन गर्नेसमेत विज्ञप्तिमार्फत जनाएको छ ।

सम्बन्धित समाचार