पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया फाइनलमा



काठमाडौं । अष्टेलिया यूएईमा जारी आईसीसी टी–२० विश्वकपको फाइनलमा प्रवेश छ। बिहीबार राति दुबईमा भएको दोस्रो सेमिफाइनल खेलमा पाकिस्तानलाई ५ विकेट हराउँदै अष्टेलिया उपाधि नजिक पुगेको हो।

पाकिस्तानले दिएको १ सय ७७ रनको लक्ष्य अष्टेलियाले १९ ओभरमा ५ विकेट गुमाएर भेट्टायो। उसका लागि म्याथ्यु वेड, मार्कस स्टोइनिस र डेभिड वार्नरले शादार ब्याटिङ गरे। वेडले १७ बलमा ४ चौका र २ छक्काको मद्दतमा नटआउट ४१ रन बनाउँदै अष्टेलियालाई फाइनलमा पुगाएका हुन्। उनले १९औँ ओभरका अन्तिम ३ बलमा लगातार तीन छक्का हान्दै उपाधि नजिक पुगाए।

यस्तै, स्टोइनिसले अविजित ४० र वार्नरले ४९ रनको योगदान दिए। पाकिस्तानका लागि शादाब खानले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा २६ रन खर्चिएर महत्वपूर्ण ४ विकेट लिँदा शाहीन शाह अफ्रिदीले १ विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो।

उसका लागि मोहम्मद रिजवान र फखर जमानलेले अर्धशतकीय पारी खेले। रिजवानले ५२ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ६७ रन बनाउँदा फखरले ३२ बलमा ४ छक्का र ३ चौकाको मद्दतमा अविजित ५५ रन जोडे।

यस्तै, कप्तान बाबर आजमले ३९ रनको योगदान दिँदा शोएब मलिक १ र आसिफ अली शून्य रनमा आउट भए। मोहम्मद हफिज १ रनमा नटआउट रहे।

बलिङमा मिचेल स्टार्कले २ तथा एडम जम्पा र प्याट कमिन्सले १–१ विकेट लिए। पाकिस्तान समूह २ को विजेता र अष्टेलिया ग्रुप १ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो।

जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको पाकिस्तान सेमिफाइनलमा हार बेहोर्दै बाहिरिएको छ। अब अष्टेलियाले उपाधिका लागि न्यूजिल्याण्डसँग खेल्नेछ।

सम्बन्धित समाचार