सत्य/तथ्य विवरण दिन जिल्ला जनगणनाको कार्यालय संखुवासभाको अनुरोध



संखुवासभा । राष्ट्रिय जनगणना कात्तिक २५ गते बिहिबार आजबाट देशभर सुरु हुँदैछ । संखुवासभामा समेत जनगणनाका लागि आजबाट गणकहरु घरघर पुग्दैछन् । यसक्रममा उत्तरदाताले गणकलाई आफ्नो सही विवरण टिपाउन जिल्ला जनगणना कार्यालय संखुवासभाले अनुरोध गरेको छ ।

राष्ट्रिय गणनाकार्य हरेक १०/१० वर्षमा सञ्चालन हुने गर्दछ । आजबाट गणना शुरू भई आगामी मङ्सिर ९ गतेसम्म जारी रहने र यसका लागि सम्पूर्ण तयारी पूरा भएको जिल्ला जनगणना कार्यालय संखुवासभाका कार्यालय प्रमुख पुष्कर गुरागाईले बुधबार पत्रकार भेटघाट गरि जानकारी गराएको हो।

उनको अनुसार, पहिलो चरणमा संखुवासभामा ६५ जना सुपरिवेक्षकले घर तथा घरपरिवार सूचीकरण गरिसकेको छ भने दुई सय ४५ जना गणक कर्मचारीहरूले घरघरमा पुगेर तथ्यांक संकलन गर्छन । जनगणनालाई प्रभावकारी बनाउन खाँदबारी, चैनपुर र नुममा तीन ठाउँमा छुट्टाछुट्टै स्थानीय जनगणना कार्यालय समेत स्थापना गरिएको छ । जनगणनाका बारेमा कार्यालय प्रमुख गुरागाईले पत्रकारहरूसंग अन्तरक्रिया तथा छलफल समेत गरेका थिए ।

सम्बन्धित समाचार