दोस्रो चरणमा ९६ श्रमिक कोरिया पठाइँदै, १२ हजार प्रतीक्षामा



काठमाडौं । वैदेशिक रोजगारीका लागि दोस्रो चरणमा ९६ जना नेपाली श्रमिक दक्षिण कोरिया जाने हुनुभएको छ । वैदेशिक रोजगार विभागकाअनुसार दोस्रो चरणमा ९६ जना नेपाली श्रमिकलाई दक्षिण कोरिया पठाउने तयारी शुरु भएको छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेले दोस्रो चरणमा ९६ जना नेपाली श्रमिकलाई दक्षिण कोरिया पठाउने तयारी शुरु भएको जानकारी दिनुभयो । अब क्रमशः नेपाली श्रमिकलाई दक्षिण कोरिया पठाउने उहाँले बताउनुभयो ।

कोरोना महामारीका कारण करिब २० महिनादेखि रोकिएको नेपाली श्रमिक दक्षिण कोरिया जाने प्रक्रिया यहि कात्तिकबाट शुरु भएको थियो । जसअन्तर्गत पहिलो चारणमा ४८ जना नेपाली श्रमिक कात्तिक १० गते दक्षिण कोरिया गइसक्नुभएको छ ।

कोरोना महामारीका कारण प्रक्रिया पूरा गरेर पनि नेपाली श्रमिक जान पाउनुभएको थिएन । रोजगार अनुमति प्रणाली (इपीएस)अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेर बसेका नेपाली श्रमिक कोरोना महामारी कम भएसँगै दक्षिण कोरिया जान लाग्नुभएको हो ।
सबै प्रक्रिया पूरा गरेका १२ हजार श्रमिक कोरिया जाने पर्खाइमा हुनुहुन्छ । दक्षिण कोरियालाई नेपाली श्रमिकका लागि वैदेशिक रोजगारीको आकर्षक गन्तव्यको रुपमा लिइन्छ ।

ईपीयस कोरिया शाखाका अनुसार नियमित भाषा परीक्षा पास गरेर ‘लेकर कन्ट्रायाक्ट’ आइसकेका करिब पाँच हजार र कोरियाबाट प्रतिबद्ध श्रमिकका रुपमा फर्किएका तीन हजार श्रमिक प्रक्रिया पुगे पनि कोरोना महामारीका कारण रोकिएका थिए ।यता रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गतको कोरिया भाषा परीक्षा फेरि सञ्चालन हुने विभागका महानिर्देशक काफ्लले जानकारी दिनु्भयो ।

यसको प्रक्रिया अगाडि बढाइएको उहाँले बताउनुभयो ।‘कोरिया जाने शुरुवात भएसँगै माग बढ्दै गयो भने विभागको तयारी पनि चाहियो । यसका लागि परीक्षाको प्रक्रिया अगाडि बढाएका हौं,’ उहाँले भन्नुभयो ।उहाँका अनुसार कोरियाले मानव संशाधान विभाग (एचआरडी)सँग फेरि परीक्षा सञ्चालन गर्नेबारे सहमति भइसकेको छ । तर, परीक्षाको मिति भने तय हुन बाँकी रहेको उहाँले बताउनुभयो । विभागको आवश्यक प्रोटोकल तयारी गरेर परीक्षा गर्ने योजना छ ।‘परीक्षा सञ्चालनको मितिबारे सार्वजनिक सूचना जारी गर्छौं । अहिले परीक्षा मिति सार्वजनिक गर्ने निष्कर्षमा पुगिसकेका छैनौं,’ उहाँले भन्नुभयो, ‘यसबारे हामीले सकारात्मक छलफल अगाडि बढाएका छौं । केहि कुराहरु निरुपण गर्नुपर्ने भएकोले मिति तय गर्न केही सयम लाग्छ ।’

२०२१ लागि २०७७ जेठमा हुनुपर्ने हुने परीक्षा अहिलेसम्म सञ्चालन भएको छैन । विभागका अनुसार कोरियाले सो वर्ष पाँच हजारभन्दा बढी श्रमिक लैजाने गरी सिलिङ (कोटा) पठाइसकेको थियो । तर, सो वर्ष कोरोना महामारी नियन्त्रणका लागि भएको लकडाउनका कारण प्रक्रिया अघि बढ्न सकेको थिएन ।
कोरोना नियन्त्रणका लागि कोरियाले लिएको नीतिका कारण परीक्षा अनिश्चित भएको थियो ।

सन् २०२० का लागि मात्रै नेपालबाट ९२ हजार श्रमिकले कोरियन भाषा परीक्षाका लागि आवेदन दिएका थिए ।सरकारले २०७६ को अन्तिम साताबाटै कोरोना महामारीका कारण देखाउँदै भाषा परीक्षा पास गरेर भिसा आएका श्रमिकलाई कोरिया पठाउन रोकेको थियो । त्यसपछि महामारीका कारण कोरिया जाने श्रमिक रोकिएका थिए ।

 

सम्बन्धित समाचार