चिचिलामा एक हप्तादेखि बालिका बेपत्ता



खाँदबारी । जिल्लाको चिचिला गाउँपालिका वडा नम्बर ३ फकादाममा बालिका बेपत्ता भएका छन् । सर्मिला र दिपक राईको ३ बर्षीय छोरी गत सनिबारबाट हराएका हुन् ।

गत शुक्रबार राई दम्पत्ती हजुरआमाको जिम्मा लगाएर जिल्ला सदरमुकाम खाँदबारी घरायसी कामका लागि आएका थिए । घरमा करिव ६० बर्षीय हजुरआमाको साथमा रहेको बेला बालिका हराएको हो । बालिकाकी हजुरआमाका अनुसार बारीमा घाँस काट्न गएको बेला बालिका हराएका हुन् । हजुरआमाले अम्बा टिपेर खान दिई घाँस काट्न गएको बेला बालिका हराएको हो । अम्बाको बोट छेउमै नातिनि अम्बा खाँदै बसेको र आफु पाँच गरा मुनीको डाले घाँस काट्दै गर्दा बच्चा रोएको सुनेर फर्किदा बच्चा नभेटिएको बताउनुभएको छ । ‘च्याँ गरेर बच्चा रोएपछि काट्दै गरेको घाँस छोडेर हतार हतार आउँदा नातिनी थिईनन’्, हजुरआमाले भन्नुभयो ।

बालिका हराएपछि प्रहरी नायव निरिक्षक (सई) टिकाराम राई नेतृत्वको प्रहरी टोली, स्थानीय नागरिक र जनप्रतिनिधीले बालिका हराएको क्षेत्रमा खोजी गर्दा समेत भेटिएको छैन । घाँस काट्न गएको बारीको वरिपरिको जंगल क्षेत्र, खोला खोल्सा लगायतका क्षेत्रमा खोजी गर्दा कतै नभेटिएको खोज तथा अनुसन्धानमा खटिनुभएको सई राईले बताउनुभयो । हजुरआमाले भनेको घटनास्थल हेर्दा जंगली जनावरले लगेको जस्तो नदेखिएको सई राईले बताउनुभयो । ‘त्यत्रो ठुलो बच्चा बोक्ने गरिको जंगली जनावर भए झार जंगल माडेको हुनु पर्ने हो त्यो पनि छैन’, सई राईले भन्नुभयो ।

बच्चा हराएपछि गाउँघरमा विभिन्न अड्कल गर्न थालिएको छ । बेपत्ता बालिका अपहरणमा परेको हुनसक्ने केहि स्थानीयले बताउन थालेका छन् । केहिले भने अदृश्य शक्तिले छल गरेर लगेको बताउन थालेका छन् । त्यस गाउँमा १३ बर्ष अघि पनि एक बालक हराएको र एक हप्तापछि नजिकैको जंगलमा मृत्त अवस्थामा भेटिएको थियो । उक्त घटनामा पनि दैवी शक्तिको हात रहेको भनिएको थियो । प्रहरीले भने घटनाको अनुसन्धान भईरहेकोले अहिले केहि भन्न नसकिने बताएको छ ।

सम्बन्धित समाचार