आर्थिक प्रलोभन अस्वीकार गर्ने ३३ ट्राफिक प्रहरी सम्मानित



काठमाण्डौ । ट्राफिक नियम उल्लङ्घन चालकहरूलाई कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकहरूलाई कानुनी दायरामा ल्याउने ३३ ट्राफिक प्रहरी सम्मानित भएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ती ट्राफिक प्रहरीलाई आज मङ्गलवार एक कार्यक्रमकाबीच पुरस्कृत एवम् खादा ओढाएर सम्मान गरेको हो ।

सम्मानित हुनेहरूमध्ये २० ट्राफिक प्रहरीलाई नगदसहित वृद्धि विकासमा सहयोग पुग्ने गरी रेकर्डमा गनिने पुरस्कार दिइएको छ भने अन्यलाई खादा ओढाएर प्रशंसापत्रसहित सम्मान गरेको महाशाखाले जनाएको छ । यस्तो कार्यले अन्य ट्राफिक प्रहरी कर्मचारीहरूमा समेत सकारात्मक उत्प्रेरणा जगाउने, अझ बढी जिम्मेवार तथा कामप्रति उत्तरदायी बनाउने विश्वास महाशाखाले गरेको छ ।

प्रलोभनमा पार्न खोज्ने चालकलाई कानुनअनुसार मुद्दा चलाइएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो ।

गएको आर्थिक वर्षमा आर्थिक प्रलोभनमा पार्न खोज्ने एक सय ६६ चालकलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने एक सय १३ प्रहरी कर्मचारीलाई महाशाखाले पुरस्कार एवम् प्रशंसापत्रद्वारा सम्मान गरेको थियो । त्यही अभियानलाई थप प्रभावकारी बनाइ चालु आर्थिक वर्षको ६ महिनामा एक सय नौ चालकलाई पक्राउ गर्ने ८३ ट्राफिक प्रहरीलाई पुरस्कार एव प्रशंसापत्रद्वारा सम्मान गरेको महाशाखाले जनाएको छ ।

सम्बन्धित समाचार