वाग्मतीका मुख्यमन्त्री पाण्डेले तिहारलगत्तै विश्वासको मत लिने



मकवानपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले तिहारलगत्तै कात्तिक २२ गते प्रदेश सभाबाट विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिएर मात्र अरू मन्त्रीहरू थप्ने र मन्त्रालयहरू फुटाउने तयारी गर्नुभएको हो ।

मुख्यमन्त्रीका रूपमा शपथ लिएको एक महिनाभित्रमा विश्वासको मत लिने समय भए पनि उहाँले कात्तिक २२ गते विश्वासको मत लिन लाग्नुभएको हो । विश्वासको मत लिनका लागि मुख्यमन्त्री कार्यालयबाट प्रदेश सभामा पत्र पठाइ सकिएको छ ।

मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि मुख्यमन्त्री कार्यालयबाट पत्र प्राप्त भएको प्रदेश सभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिनुभयो । तिहारलगत्तै सदनबाट विश्वासको मत लिनेबित्तिकै प्रदेशमा मन्त्रालयको सङ्ख्या १२ वटा पुर्‍याउने तयारी गरिएको छ । अहिले भने मुख्यमन्त्री पाण्डे मन्त्रालय भागबन्डामा जुट्नुभएको छ । माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको समर्थनमा नेकपा (एकीकृत समाजवादी) बाट मुख्यमन्त्री बन्नुभएका पाण्डेले प्रदेशका मन्त्रालय फुटाएर भागबन्डा मिलाउने प्रयास गरिरहनुभएको हो ।

माओवादी र कांग्रेसले चाररचार मन्त्रालय र एकरएक राज्यमन्त्री मागेपछि पाण्डे नेतृत्वको सरकार जम्बो मन्त्रिपरिषद् बनाउन बाध्य हुने देखिएको छ । मुख्यमन्त्री पाण्डेले पनि शपथ ग्रहणलगत्तै यसतर्फ सङ्केत गरिसक्नुभएको छ । उहाँले गठबन्धनमा रहेका दलहरूलाई चित्त बुझाएर मन्त्रिपरिषद् विस्तार गर्ने घोषणा गर्नुभएको हो । माओवादी र कांग्रेसमा पनि मन्त्री बन्न सांसदहरूले लबिङ थालिसकेका छन् ।

तीन वटै पार्टीले मन्त्रीको नाम उपलब्ध गराउन नसकेपछि पाण्डेको शपथ ग्रहणमा संसदीय दलका उपनेताको नेतृत्वमा सरकारमा जाने निर्णय गरेर दलहरूले पहिलो चरणमा सांसदहरूलाई थामथुम पारेका थिए ।

सम्बन्धित समाचार