टी २० विश्वकपमा पाकिस्तानको लगातार तेस्रो जित



काठमाडौं । बाबर आजमको अर्धशतक र आसिफ अलीको विष्फोटक ब्याटिङमा पाकिस्तानले आईसीसी टी २० विश्वकपमा लगातार तेस्रो जित हात पारेको छ ।

आसिफ अलीले १९औं ओभरमा चार छक्का प्रहार गरेपछि पाकिस्तानले शुक्रबार भएको खेलमा अफनिस्तानलाई पाँच विकेटले पराजित गरेको हो ।

सुपर १२ अन्तर्गत ग्रुप २ मा रहेको पाकिस्तान तीन खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा छ र सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । पाकिस्तानले अब दुई एसोसिएट राष्ट्र नामिबिया र स्कटल्याण्डसँग खेल्न बाँकी छ । पहिलो हार बेहोरेको अफगानिस्तानको दुई खेलबाट दुई अंकसहित दोस्रो स्थानमा छ ।

अफगानिस्तानले दिएको १४८ रनको लक्ष्य पाकिस्तानले ६ बल बाँकी छँदै पाँच विकेट गुमाएर पूरा गर्‍यो । अन्तिम दुई ओभरमा जितका लागि पाकिस्तानलाई २४ रन आवश्यक थियो । १९औं ओभर अफगानिस्तानका करिम जन्नतले बलिङ गरेका थिए । जसमा आसिफ अलीले चार छक्का प्रहार गरेपछि पाकिस्तानले एक ओभर अगावै खेल जित्यो ।

अलीले सात बल खेल्दै चार छक्का मद्दतमा अविजित २७ रन बनाए । पाकिस्तानका लागि कप्तान बाबरले ५१ रन बनाए । यस्तै फकर जमनले ३० र सोएब मल्लिकले १९ रन बनाए ।

अफगानिस्तानका रासिद खानले दुई तथा मुजिब उर रहमान, मोहम्मद नावी र नभिन उल हकले समान एक विकेट लिए ।

त्यसअघि दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ६ विकेट गुमाएर १४७ रन बनाएको थियो । कप्तान नावी र गुल्बादिन नैवले इनिङ्सको अन्त्यतिर उत्कृष्ट ब्याटिङ गरेपछि अफगानिस्तानले मध्यम स्कोर बनाएको थियो । अफगानिस्तानले अन्तिम तीन ओभरमा ४३ रन जोडेको थियो ।

कप्तान नावीले ३२ बल खेल्दै पाँच चौका मद्दतमा अविजित ३५ रन बनाए । यस्तै २५ बल खेलेका नैवले चार चौका र एक छक्का मद्दतमा अविजित ३५ रननै बनाए । यी दुईले सातौं विकेटका लागि अविजित ७१ रनको साझेदारी गरे । पाकिस्तानका इमाद वासिमले दुई तथा शाहीन शाह अफ्रिदी, हारिस राउफ, हसन अली र शदाब खानले समान एकरएक विकेट लिए ।

सम्बन्धित समाचार