सेकाहामा बृहत साँगीतिक कार्यक्रम आयोजना हुने



संखुवासभाको खाँदबारी नगरपालिका–४ सेकाहामा खेलमैदानको जग्गा ब्यबस्थापन गर्नका लागि दशै तथा तिहारको अवसर पारेर साँगीतिक कार्यक्रम आयोजना हुने भएको छ । उक्त साँगीतिक कार्यक्रममा राष्ट्रिय कलाकार गायिका कुसुम गुरुङ सेकाहा आउने भएकी छिन् । ‘भिर माथिको गाउँ’बोलको गीतबाट संगीत क्षेत्रमा होमिएकी गायिका कुसुमले पछिल्लो समय ‘सुनमायाँ, पूर्वेली नानी, धानको बाला झुलेको’लगायत थुप्रै गीतहरु ल्याएकी छिन् ।

त्यसका साथै उमङ लामा, दिनेश गुरुङ, मायाँ गुरुङ, भविन गुरुङ र नवीन गुरुङ लगायतका थुप्रै कलाकारहरुले आआफ्नो प्रस्तुती दिने भएका छन् । कार्यक्रममा गीतसंगीतका साथै नृत्यहरु समेत रहने आयोजकले जनाएको छ ।

सेकाहा सामुदायिक विकास क्लबको आयोजनामा आगामी १७ गते बुधबार कागतिहारको दिन बृहत साँगीतिक कार्यक्रमको आयोजना गरिने भएको सेकाहा सामुदायिक बिकास क्लबका अध्यक्ष मनिराज गुरुङ (चन्द्रशेखर)ले बताए । उनको अनुसार, सेकाहा आफैमा पर्यटकीय क्षेत्र भएपनि यहाँका युवाहरुले आफ्नै घर नजिकै खेलमैदान अभावमा खेलकुद प्रति भनेजति विकास हुन नसकेका कारणले खेलमैदानको जग्गा ब्यबस्थापन गर्नका लागि साँगीतिक कार्यक्रमको आयोजना गरिएको हो ।

उक्त साँगीतिक कार्यक्रमबाट संकलन भएको रकम खेलमैदान जग्गा ब्यबस्थापन शिर्षक अन्तर्गत कोष खडा गरिनेछ । उक्त कोष बढाउन लागि गाउँ समाज देखि देशविदेश सम्म रहेका आफन्तजन, सेकाहाबासी शुभचिन्तकहरुबाट रकम संकलन गरेर कामको प्रारम्भ गरिने अध्यक्ष गुरुङको भनाइ छ ।

०६५ सालमा स्थापना भएको सेकाहा सामुदायिक बिकास क्लबले बर्सेनि सामाजिक जनचेतनामुलक लगायत विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । क्लबले गाउँघर र समाजमा हुने विसंति, घरेलु हिंसा, युवा दुब्र्यसनी, अनियमितता र अन्य विभिन्न समाज सुधारका लागि कार्यक्रमहरु गर्दै आएको छ ।

सम्बन्धित समाचार