मकालु हिमाल घुम्न आएका विदेशी पर्यटकको मृत्यु



संखुवासभा । संखुवासभाको मकालु हिमाल घुमफिरका लागि आएका एक विदेशी पर्यटकको मृत्यु भएको छ । मकालु गाउँपालिका वडा नं. २ मा अवस्थित विश्वको पाँचौं अग्लो मकालु हिमाल घुम्न आएका डेनमार्कका हेन्रिक थोर्वजन एडर्शनको शुक्रबार मृत्यु भएको हो ।

उनको मकालु आधार शिविर भन्दा माथि मृत्यु भएको जनाइएको छ । गत असोज २५ गते ३ विदेशी पर्यटक सहित १० जनाको टोली मकालुतर्फ गएका थिए । उनीहरु ताप्लेजुङ हुँदै मकालु गएका थिए ।

अन्य २ जना डेनिस नागरिक र एक जना नेपाली सहित ३ जनालाई आइतबार हेलिकप्टर मार्फत उद्धार गरिएको प्रहरीले जनाएको छ । अन्य ३ जनालाई उद्धारको लागि पहल भइरहेको छ । अत्यधिक हिउँ परेपछी उनीहरु समस्यामा परेका थिए । उनीहरु मकालुपछी सोलुखुम्बु जाने तयारीमा थिए ।

यसअघि गत सोमबार मकालु हिमाल वेशक्याम्प घुम्न गएका १ जना नेपालीको मृत्यु भएको थियो । सुर्योदय नगरपालिका ५ श्रीअन्तु इलामका ३२ वर्षीय धरणीधर घिमिरेको निमोनियाका कारण मृतयु भएको थियो ।

 

सम्बन्धित समाचार