बाढीले मोरङको सुनवर्षीमा ४४८ घरपरिवार विस्थापित



विराटनगर । बाढी र डुबानका कारण मोरङको सुनवर्षी नगरपालिकाभित्र बसोबास गरिरहेका ४ सय ४८ परिवार विस्थापित भएका छन्।

बाढीले सुनवर्षी नगरपालिका–३, ४, ६ र ७ नम्बर वडाका बासिन्दा विस्थापित बनेको स्थानीय प्रशासनले जनाएको छ। बेमौसमको वर्षासँगै आएको बाढीले क्षति पुर्‍याउनुका साथै घरहरु डुबानमा परेपछि विस्थापित भएकाकाहरु नजिकैको विद्यालयमा आश्रय लिएर बसिरहेका छन्। कतिपय परिवार त्रिपालमुनि बसिरहेका छन्।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार बाढी तथा डुबानका कारण सुनवर्षीको ६ र ७ नम्बर वडा सबैभन्दा बढी प्रभावित बनेका छन्। ‘बाढीका कारण विस्थापित भएकाहरु कष्टकर जीवन बिताउन बाध्य छन्,’ उनले भने, ‘उनीहरुलाई पुनस्र्थापनका लागि स्थानीय प्रशासनको तर्फबाट पहल भइरहेको छ।’

बाढीबाट प्रभावित बनेकालाई जिल्ला विपद् व्यवस्थापन समितिमार्फत खाद्यान्न लगायतका राहत सामग्री वितरण गर्न थालिएको जानकारी दाहालले दिए। प्रजिअ दाहालको नेतृत्वमा नेपाल र सशस्त्र प्रहरीका प्रमुखसहित पुगेको टोली पीडितहरुलाई राहत वितरण गरेर शुक्रबार राति विराटनगर फर्किएको छ।

उनका अनुसार विराट व्यापार संघ, मोरङ व्यापार संघ र उद्योगी व्यवसायीसँगको समन्वयमा खाद्यान्न एवं उपभोग्य वस्तुसहितको राहत सामग्री संकलन गरेर पीडितहरुका लागि वितरण गरिएको दाहालको भनाइ छ। उनका अनुसार प्रभावित स्थानका पीडितको अवस्था हेरेर प्राथमिकताका आधारमा वितरण गर्ने गरी राहत सामग्री नगर प्रमुख र वडाध्यक्षलाई हस्तान्तरण गरिएको छ। पहिलो चरणमा बाढी पीडितका लागि १ सय ४० थान त्रिपाल, १ सय २ थान कम्बल, २ सय ५० थान म्याट्रेस, साढे ८ क्वीन्टल चामल, २ सय किलो नुन, ३ क्वीन्टल चिउरा, २० कार्टुन पानी लगायतका राहत सामग्री वितरण गरिएको जानकारी प्रजिअ दाहालले दिए।

सम्बन्धित समाचार