शोषणमा परेर विदेशबाट फर्किएकालाई पुनः स्थापना हुनै कठिन



विराटनगर : सुनसरीकी विनिता ऋषिदेव १५ वर्षको उमेरमा कुवेत पुगिन्। वराहक्षेत्र नगरपालिका-५ की ऋषिदेव परिवारको गुर्जो टार्न खाडी मुलुक कुवेत लागेकी हुन्।

आमाबुवाको कमाइले पाँचजनाको परिवार चलाउन धौ धौ थियो। त्यसैले उनले दुई कक्षाभन्दा बढी पढ्न पाइनन्। घरकी जेठी छोरी भएपछि सबै भार उनैको टाउकोमा थियो। भाइबहिनीको हेरविचारको जिम्मा उनैको काँधमा थियो।

साँझबिहान के खाऊँ भन्ने द्विविधामै उनको बाल्यकाल बित्यो। चरम अभावमा बितेको आफ्नो बाल्यकाल जस्तै भाइबहिनीले व्यहोर्न नपरोस् भन्ने सोचले उनले पढाइ छाडिन्।

बुवाआमाको कमाइबाट सोचेजस्तो घर व्यवहार भने चल्न सकेन। एकातिर बुवाआमाको दुःख पनि आफ्नै सम्झेर जिम्मेवारी बोक्नु थियो। अर्कातिर भाइबहिनीको भविष्य सुन्दर बनाउने सपना पूरा गर्ने अभिभावकत्व पनि उनकै काँधमा आइलाग्यो।

यति कुरा सोचेर आँखामा आँसु बोकेर उनले रुँदै देश छाड्ने निर्णय गरिन्। उनको आँसुभित्र उनका भाइबहिनीको खुशी र आमाबुवाको सुख देखिएको थियो।

त्यो समय नागरिकता बनाउनका लागि उनको उमेर पुगेको थिएन। उनलाई कसैगरी विदेश जानु थियो। निकै लामो प्रयासपछि गाउँका छिमेकी दाइको सहयोगबाट उमेर बढाएर उनले नागरिकता बनाइन्। नागरिकता पाएका दिन सपनाको उडान भरेको जस्तै महसुस भएको उनले सुनाइन्।

‘धेरै पटकको प्रयासमा मेरो नागरिकता बनेको थियो। उमेर पुगेको थिएन। म परिवारका लागि विदेश जानैपर्ने अवस्था थियो। त्यो वेला नागरिकता बनाउने मेरो पहिलो सपना थियो’‚ उनले भनिन्।

उनको यो सपना त पूरा भएजस्तै भयो। ठूलो संकल्पका अगाडि आयस्रोत र जीवनयापनको चुनौती भने भीमकाय बनिरह्यो। जसलाई पन्छाउन होइन, जिम्मेवारीमा बसेर काम गर्न उनको दैनिकी सुरु गरेजस्तो भयो।

‘नागरिकता बनेपछि एउटा सपना पूरा भए जस्तौ लाग्यो, मान्छेलाई गरिबी र भोकले सानै उमेरमा जिम्मेवार बनाउने रहेछ’‚ उनले आफ्नो बाध्यता सुनाइन्।

नागरिकता त बन्यो तर सपनाको उडान भर्न चाहिने आवश्यक खर्च जोहो गर्न झन् सकस थपियो। विदेशिएर पैसा कमाउन सजिलो थिएन। परिवारलाई सुखका साथ राख्ने सपनाको ठूलो चाङ लिएर हिँडेकी विनितालाई अभावले छेकेन। उनैको नागरिकता बनाइदिने छिमेकी दाइले आर्थिक सहयोग गरेको उनले बताइन्।

‘विदेश जाने सबै खर्च म दिन्छु तर तिमीले कमाएको पैसा परिवारसहित मलाई पठाउनुपर्छ भन्ने शर्त राख्नु भयो’, उनले भनिन्, ‘मैले केही सोचिनँ, त्यो समय मलाई आवश्यकता थियो‚ मैले उहाँको शर्त स्वीकार गरेँ।’

नागरिकता, राहदानीका साथमा सुनौलो भविष्यको सपना बोकेर छिमेकी दाइसँग विदेश यात्राका लागि हिँडेकी उनी भारतको सानो कोठामा पुगिन्। गएको दिनदेखि साँघुरो कोठामा थुनिएर बस्ने विनिता मात्रै थिइनन्। उनी जस्तै धेरै महिला सुखद भविष्यको परिकल्पनामा वैदेशिक रोजगारीका लागि हिँडेको भारतको कोठीसम्म पुगेका थिए।

‘दाइले एक महिनापछि कुवेत लग्छ भनेर भारतमा लगेर नचिनेकी दिदीसँग छोडिदिनुभयो, म मात्रै थिइनँ। थुप्रै नेपाली दिदी बहिनीहरू थिए’‚ उनले भनिन्, ‘सबैको पीडा उस्तै थियो मेरो जस्तै आर्थिक अभाव।’

एक हप्ताको बसाइपछि आफू दुई महिनाका लागि भारतमा बेचिएको भन्ने उनीसँगै कोठीमा बस्ने साथीको माध्यमबाट उनले थाहा पाइन्। आफू केही समयका लागि बेचिएको थाहा पाएपछि उनी प्रत्येक दिन नेपाल फर्कन चाहन्थिन्। बन्द कोठाभित्र कष्टकर जीवन बिताएकी विनिताको दुई महिनापछि कुवेतका लागि भिसा लाग्यो। उनी भन्छिन्, ‘कुवेत उडेको दिन सपना पूरा भयो भनेर जीवनको सबैभन्दा ठूलो खुशी मिलेको थियो।’

उनी सपनाको शहर त पुगिन् तर सपना पूरा गर्न भने सकिनन्। उनी घरेलु कामदारका लागि कुवेत पुगेकी थिइन्। जुन घरका लागि काम गर्न भनेर पुगिन्। त्यो घरमा उनले शारीरिक र मानसिक यातना व्यहोर्नु परेको थियो। गएको महिना दिन बितिसक्दा उनको मालिकले काम गरेको तलबसमेत नदिएको उनले जानकारी दिइन्।

उनले भनिन्, ‘तलब माग्दा शारीरिक, मानसिक यातना दिएर बन्द कोठामा थुनेर राख्थ्यो।’ करिब डेढ वर्ष कुवेत बसाइपछि जसोतसो भागेर नेपाली दूतावास पुगेकी विनिता ५ वर्षअघि खाली हात नेपाल फर्किइन्। उनी गैरआवासीय नेपाली संघ कुवेत र नेपाली दूतावासको समन्वयमा नेपाल फर्केकी थिइन्। आफन्तको खिसिट्युरीले उनलाई गाउँमा खुलेर जिउन धेरै गाह्रो भएको उनले सुनाइन्।

‘आफन्तले बेचिएर आएको भन्थे, काम गर्न नसकेर आएको भन्दै कुरा काटेर गाउँघरमा बस्न मनै लाग्दैनथ्यो’‚ उनले भनिन्, ‘छिमेकको मुख टाल्न विवाह गरेँ‚ श्रीमान् पनि बित्नु भयो। अहिले जसोतसो चलिरहेको जीवन चलिरहेको छ।’

उनले कुवेत पुग्दा लागेको ऋण अझै चुक्ता गर्न सकेकी छैनन्। कुवेतबाट फर्किएर आएपछि  उनीसँग भएको राहदानी, नागरिकता उनलाई कुवेत पठाउन सहयोग गर्ने छिमेकी दाइले लगेको आजसम्म दिएका छैनन्। ‘पहिले विदेश जाँदाको पैसा चुक्ता गर अनि तेरो नागरिकता राहदानी दिन्छु भन्नुहुन्छ’‚  उनले भनिन्।

आफूसँग सीपमूलक काम नहुँदा दैनिकी चलाउन सकस भएको उनी बताउँछिन्। माइती नेपाल विराटनगर जोगबनीको २०२१ जनवरीदेखि अगष्टसम्मको तथ्याङ्कअनुसार प्रदेश १ सहित अन्य जिल्लाका १ सय २२ जना महिलालाई उद्धार गरिएको छ।

तथ्याङ्कअनुसार मोरङबाट ५९ जना, सुनसरीबाट ३६ जना, झापाबाट १० जना, भोजपुरबाट १ जना, धनकुटाबाट ३, सप्तरीबाट ५, संखुवासभाबाट ४, ताप्लेजुङ १, पाँचथरबाट २ र धनुषाबाट १ जनालाई उद्धार गरिएको छ। सबैभन्दा बढी महिला बेचविखन तथा ओसारपसार हुने जिल्ला मोरङ रहेको तथ्याङ्कमा उल्लेख छ।

उद्धार गरिएका महिलामध्ये सबैभन्दा धेरै १९ देखि २५ वर्ष उमेर समूहका रहेको माइती नेपालका प्रदेश संयोजक विनोद पोखरेलले जानकारी दिए।

चोरबाटो रोज्दा रेकर्ड खोज्नै समस्या

वैदेशिक रोजगारीका लागि चोरबाटो रोजेका कारण वास्तविक तथ्याङ्क सङ्कलनमा सकस हुने गरेको पोखरेल बताउँछन्। कतिपय उद्धार भएका महिलामध्ये वैदेशिक रोजगारीका लागि जाने क्रममा भारतको दिल्ली, मुम्बई लगायतका स्थानमा बेचिएका महिलाको उद्धार भएको उनले  बताए।

‘वैदेशिक रोजगारीका लागि फ्री भिसामा जाने महिलालाई एजेन्टले भारतको जोगबनी हुँदै लग्ने गर्दछन्’‚ उनले भने, ‘त्यसरी चोरबाटो हुँदै जानेको संख्या धेरै छ, त्यसैले उनीहरूको यकिन तथ्याङ्क खुलेको हुँदैन।’

चोरबाटो जाने महिलालाई भारतका विभिन्न स्थानमा लगेर राख्ने गरेको र त्यहाँबाट उनीहरू जाने देशमा महिलाको फोटो पठाउने र त्यसपछि विदेशबाट पठाऊ भन्ने अनुमति आएपछि महिलाहरूको भिसा लाग्ने गरेको सोधपुछबाट खुलेको उनले बताए।

उनले भने, ‘जाने गइहाल्ने रहेछन्, नजानेलाई भारत बस्दाको खर्च उठाउन बन्धक बनाएर यौन व्यवसायमा लगाउने वा कुनै कोठीमा बेचबिखन गरिदिने रहेछ।’

उद्धार भएका महिलाहरूलाई माइती नेपालको सहयोगमा पुनःस्थापना हुन घर जान चाहनेलाई घर पठाउने र सीप सिकेर संस्थामा बस्न चाहनेलाई माइती नेपालको संरक्षणमा राखेर पुनःस्थापना गराउने गरेको उनको भनाइ थियो।

रोजगारीको प्रलोभनमा बेचिन पुग्छन् अधिकांश महिला

विभिन्न रोजगारीको प्रलोभनमा परेर अधिकांश महिला बेचिने गरेको जिल्ला प्रहरी कार्यालय मोरङकी महिला सेल इन्चार्ज प्रहरी निरीक्षक एल्जिना राई बताउँछिन्।

उनी भन्छिन्, ‘विभिन्न रोजगारीको प्रलोभनमा परेर अपरिचित व्यक्तिलाई विश्वास गर्नाले साथै पीडितलाई आफू बेचिँदै छु भन्ने जानकारी नहुँदा पनि अधिकांश महिला बेचिने गरेका छन्।’

पछिल्लो समय कोरोनाले गर्दा नेपालमा रोजगारी खोसिएका महिलाहरूलाई भारतमा रोजगारी लगाइदिने प्रलोभनमा परेर बेचिएका उजुरी महिला सेलमा आउने गरेको उनको भनाइ छ।

वैदेशिक रोजगारीबाट दुःख पाएर फर्केपछि पुनःस्थापना गराउन गराउन सकस

गैरकानुनी ढंगबाट वैदेशिक रोजगारीका लागि गएका महिलालाई नेपाल आएपछि पुनःस्थापना गराउन धेरै सकस पर्ने गरेको अधिवक्ता कला त्रिताल बताउँछिन्।

सरकारले घरेलु कामदारका लागि प्रतिबन्ध लगाए पनि गाउँका सोझा महिलालाई अवैध तरिकाले तेस्रो मुलुक हुँदै खाडी पुर्‍याउने गरेको अधिवक्ता त्रिताल बताउँछिन्।

त्यस्तो अवस्थामा महिलाहरूलाई एजेन्टले श्रम स्वीकृति नगराई अवैध तरिकाले भारत हुँदै खाडीका विभिन्न देशमा पुर्‍याउने गरेको उनले स्पष्ट पारिन्।

‘अवैधरूपमा वैदेशिक रोजगारीका लागि खाडी पुगेका महिलाहरू परिवारबाट लामो समय सम्पर्कविहीन हुन्छन्’‚ मानवअधिकारका लागि जनमञ्चका जिल्ला संयोजकसमेत रहेकी त्रिताल भन्छिन्, ‘लामो समयपछि साथीको माध्यमबाट सम्पर्कमा आएका उनीहरूलाई नेपाल आएपछि पुनःस्थापना गराउन धेरै सकस हुन्छ।’

नेपाल सरकारले दिएको आवेदन भरेर नेपाली एयरपोर्ट प्रयोग गर्दै गएका कामदारहरूको वैदेशिक रोजगार प्रवर्धन बोर्डमा तथ्यांक हुने भएकाले उनीहरूलाई दुर्घटना लगायतका केही भवितव्य परे सरकारले दिने सेवा सुविधा प्राप्त गर्न सहज हुने गरेको उनले बताइन्।

गैरकानुनी ढंगबाट गएका कामदारलाई भने सरकारी सेवासुविधा उपलब्ध गराउन सकस पर्ने गरेको उनले बताइन्। ‘अवैध तरिकाले वैदेशिक रोजगारीमा गएका कामदारको तथ्याङ्क उहाँहरूसँग पनि हुँदैन र हामीसँग पनि हुँदैन’‚ उनले भनिन्, ‘उहाँहरूले भनेको आधारमा जसले रोजगारीका लागि पठाएका हुन्, पठाउनेलाई मानव बेचविखनको कसुरमा अभियोग लगाउन मात्रै मिल्छ। त्यसबाहेक अरू सेवा सुविधा दिन गाह्रो पर्छ।’

सम्बन्धित समाचार