बाढी प्रभावित विराटनगर विमास्थलमा आजदेखि उडान सुरु हुने



काठमाडौं । बाढी पसेर बन्द भएको विराटनगर विमानस्थल आजदेखि सञ्चालनमा आउने भएको छ ।

दुई दिनसम्म उपकरणहरुको परीक्षणपश्चात विमानस्थल सञ्चालनमा आउने भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले दिउँसोको समयमा मौसम सफा भएको अवस्थामा उडान गर्ने गरी अनुमति दिएको हो ।

उडान तालिका बिहानबाट साँझ पाँच बजेसम्म मात्र हुने भएको छ । उपकरणहरुको जाँच बाँकी रहेका कारण रात्रिकालीन उडान भने तत्काल नहुने भएको छ ।

प्राधिकरण स्रोतका अनुसार तत्कालका लागि आईएफआर (उपकरणमा आधारित) उडान नगरी भीएफआर उडान मात्र हुने भएको हो ।

उपकरणहरु चुस्त रहेको निश्चित भएपछि भने आईएफआर उडानसमेत हुनेछ । आईएफआर उडान भएको अवस्थामा रात्रीकालीन उडान समेत सम्भव हुन्छ ।

 

सम्बन्धित समाचार