मनराम-एसकाज पत्रकारिता पुरस्कार संखुवासभाका दुई पत्रकारलाई प्रदान



संखुवासभा । मनराम-एसकाज पत्रकारिता पुरस्कार संखुवासभाका दुई पत्रकारलाई प्रदान गरिएको छ । मंगलबार संखुवासभा काठमाडौं जर्नालिष्ट एसोसिएसन (एसकाज)ले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गरेको हो ।

मनराम–एसकाज पत्रकारिता पुरस्कार २०७७ नयाँ पत्रिका संखुवासभा संवाददाता तथा संखुवासभा एक्सप्रेस साप्ताहिकका प्रकाशक/सम्पादक नवीन गुरूङलाई प्रदान गरेको हो भने मनराम–एसकाज पत्रकारिता पुरस्कार २०७८ पाख्रीबास एफएमका स्टेसन म्यानेजर प्रेमप्रसाद निरौलालाई प्रदान गरिएको छ ।

मनराम प्रतिष्ठान र एसकाजको संयुक्त पहलमा २०७३ मा स्थापित पुरस्कार हरेक वर्ष संखुवासभामा रहेर पत्रकारिता गर्दै आएका क्रियाशील पत्रकारलाई प्रदान गरिँदै आएको छ । मनराम–एसकाज पत्रकारिता पुरस्कार यसअघि गंगा बिष्ट, इन्द्र गिरी, दीपेन्द्र शाक्य र कृष्णराज शाक्यलाई प्रदान गरिएको छ ।

गत वर्ष कोभिड– १९ का कारण कार्यक्रम गर्न नसकिएकाले दुवै वर्षको पुरस्कार एकैपटक प्रदान गरिएको एसकाजका अध्यक्ष शंकर खनालले बताए ।

सम्बन्धित समाचार