जिते आरोही, हारे मृत्यु



पोखरा । ‘हिमाल चढ्दा कुन पाइला र कुन श्वास अन्तिम हो, थाहा हुँदैन । हिमाल चढ्दै गर्दा फर्किन्न कि जस्तो लाग्छ, तर लक्ष्य महत्वपूर्ण रहेछ । लक्ष्य लिइसकेपछि मृत्युको चिन्ता नहुँदो रहेछ।’

१६ असोज २०७८ मा धौलागिरि हिमाल आरोहण गरेकी पूर्णिमा श्रेष्ठका भनाइ हुन्, यी । आरुघाट, गोरखाकी उनी धौलागिरि आरोहण गर्ने पहिलो महिला हुन् । उनी दोस्रो प्रयासमा धौलागिरि शीखर पुगेकी हुन् ।

गत वसन्तमा धौलागिरि आरोहण गर्ने उनको प्रयास खराब मौसम र टोलीका सदस्य बिरामी भएर असफल भएको थियो ।

सरकारले पछिल्लो समय गोरखालाई हिमाली जिल्लामा सूचिकृत गरेपनि श्रेष्ठको गाउँ आरुघाटबाट हिमाल देखिँदैन । उनले बाल्यकालमा कहिल्यै हिमाल देखिनन् । नदेखेको हिमालमा दिल बस्ने कुरै भएन । तर ‘न्युज फोटो’ खोज्दै हिँड्ने क्रममा हिमालको प्रेममा परेको उनी बताउँछिन् ।

एभरेस्ट म्याराथन भइरहेको बेला सन् २०१७ मा पहिलो पटक सगरमाथा बेसक्याम्प उक्लिने मौका पाएकी उनी त्यही बेलादेखि आफुलाई हिमालले तानेको बताउँछिन् । त्यो आकार्षणले उनलाई कीर्तिमानधारी आरोही बनाएको छ । सगरमाथाको बेसक्याम्प पुगेपछि बिदेशीहरुको हिमालमोह र हिमालयको महत्व बुझेको उनी बताउँछिन् । त्यसपछि उनमा हिमाल चढ्ने हुटहुटी पनि जाग्यो ।

‘मैले त सुरुमै सगरमाथा आँटेकी थिएँ, तर पहिला साना हिमाल चढ्नुपर्ने सुझावपछि त्यही साल गोरखाकै मनास्लु आरोहण गरेँ’, श्रेष्ठ भन्छिन् । मनास्लु ८ हजार मिटरभन्दा अग्लो हिमाल हो, जसलाई ‘किलर माउन्टेन’ पनि भनिन्छ । सन् २०१८ मा उनी सगरमाथातिरको उकालोमा थिइन् ।

सगरमाथा उक्लिँदै गर्दा छेवैको आमादब्लमले मोहित बनायो । उनले २०१९ मा आमादब्लमको पनि शीखर चुमिन् । भनिन्छ, ‘हिमाल टाढादेखि हेर्दा मात्र हो सुन्दर देखिने । नजिक पुगेपछि यसको कठोरपना थाहा हुन्छ । त्यहाँ प्रत्येक पाइलामा मृत्युसँग लड्नुपर्छ– जिते आरोही, हारे मृत्यु ’

पूर्णिमा श्रेष्ठको अनुभवमा, हिमाल आरोहण मृत्युसँगको रोमान्स हो । कहिलेकाहीँ हिमाल चढ्दै गर्दा ऋण काढेर काल किन्न आएजस्तो लाग्छ । अनि, सफल आरोहणपछि आफैंले आफैंलाई ‘सरप्राइज’ दिएजस्तो । हालसम्म उनले आफूलाई त्यस्तो पाँचवटा ‘सरप्राइज’ दिएकी छन् ।

उनका लागि हिमाल ऊर्जा पनि हो । हरेक आरोहणपछि उनी आफूभित्र ऊर्जा थपिएको अनुभूति गर्छिन् । ‘हिमाल चढिसकेपछि असम्भव केही छैन भन्ने लाग्छ’, उनी भन्छिन्, ‘हिमाली यात्रा मेरालागि ऊर्जाको स्रोत पनि हो ।’ बर्सेनि एउटा हिमाल चढ्ने श्रेष्ठको लक्ष्यलाई कोरोना महामारीले केहि प्रभावित पा¥यो । तैपनि, उनी महामारीकालमै दु्ई हिमाल चढिन् । बाँकी चुचुराहरुले उनलाई अपिल गरिरहेका छन् । भन्छिन्, ‘आठहजार मिटरभन्दा अग्ला सबै हिमाल चढ्नु छ ।’

‘खर्चिलो आकर्षण’

एउटा हिमाल चढ्न १५ लाखदेखि २० लाख रुपैयाँसम्म खर्च जुटाउनुपर्छ । आफू ऋणधन गरेरै आरोहणमा लागिरहेको श्रेष्ठ सुनाउँछिन् ।

अन्नपूर्ण (प्रथम) आरोहण गर्दा भने गण्डकी प्रदेश र स्थानीय सरकारले भरपूर सहयोग गरेको उनले बताइन् । भन्छिन्, ‘हिमाल आरोहण एकदमै खर्चालु हुने भएकाले असफल भए ठूलो निराशा हुन्छ ।’

धौलागिरिमा पहिलो पटक उनी असफल भइन् । धौलागिरि अरु हिमालजस्तो होइन । त्यहाँ मौसम बिग्रिरहन्छ । आरोही श्रेष्ठका अनुसार, सधैं हिउँ परिरहने भएकाले एउटा क्याम्पदेखि अर्को क्याम्पसम्म पुग्ने बाटो उत्तिखेरै बिग्रिहाल्नछ ।

‘दोस्रो पटक केही सजिलो भयो, पहिलेजस्तो हावाहुरी चलेन’, उनी भन्छिन्, ‘धौलागिरिमा गृष्मकाल अनुकुल हुने रहेछ ।’

गण्डकीमा ८ हजार मिटरभन्दा अग्ला तिन वटा हिमाल छन् । तर, ती हिमालबाट प्रदेशले फाइदा लिन नसकेको श्रेष्ठको बुझाइ छ । ‘यति राम्रा हिमाल छन् । तर न हिमाल जाने बाटो छ, न बास नै,’ उनी भन्छिन् ।

सम्बन्धित समाचार