धनकुटाका आठपहरिया बस्तीमा भित्रिँदैन दशैं



धनकुटा । नेपालीहरु घर आँगनमा दशैं भित्रिसकेको छ। दशैका लागि सबैले तयारी गरिसकेका छन्। तर, धनकुटा नगरपालिकामा मात्रै बसोबास रहेको आठपहरियालाई भने दशैंले छोएको छैन। उनीहरुले अहिलेसम्म दशैँ मनाएका छैनन। उनीहरुले दशैँलाई आफ्नो चाड नै नभएको बताउँछन।

दशैंको सन्दर्भ आउनासाथ जंगबहादुर राणाको समयमा मारिएका आफ्ना पुर्खा दुई सांस्कृतिक शहीद रामलिहाङ र रिदामालाई उनीहरुले सम्झन्छन्। वि।सं। १९३३ सालमा दशैं नमान्दा रामलिहाङ र रिदामा आठपहरियालाई धनकुटामा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो। रामलिहाङ र रिदामा आठपहरिया समुदायका पुजारी रहेको जानकारहरु बताउँछन्।

यी दुवैलाई अनिवार्य दशैं मनाउन सरकारी आदेशको अवज्ञा गरेको आरोपमा मृत्यु दण्ड दिइएको किरात आठपहरिया समाज धनकुटाका अध्यक्ष अष्टमान आठपहरियाले बताए। धनकुटाको चुलीवन नजिकै झुण्डगाउँ छ। राणाकालमा मानिस झुन्ड्याएर मार्ने ठाउँ भएकाले त्यो ठाउँको नाम पनि झुण्डगाउँ राखिएको स्थानीयहरु बताउँछन्। चुलीबनको पिकनिक पार्क नजिकै झुन्डगाउँ हुनु र रामलिहाङ र रिदामालाई पनि झुन्ड्याएर मारिएको कथनबाट यी दुई कुनै काल्पनिक पात्र नभई वास्तविक सांस्कृतिक शहीद भएको किरात आठपहरिया समाज केन्द्रीय महासचिव सूर्य आठपहरिया बताउँछन्।

लादिएको दशैं

आठपहरियाहरू दशैं आफ्नो चाड नभएको बताउँछन्। राजा राजेन्द्रविक्रम शाहको समयमा जारी एक रुक्का यसको प्रमाण भएको महासचिव आठपहरियाले बताए। ‘धनकुटाको मार्गाथानको पुजारी खलकलाई दशैंमा पूजा गर्न एक गुठीसमेत स्थापना गरिएको प्रमाण उक्त रुक्काबाट प्राप्त हुन्छ‚’ उनले भने‚ ‘धमिलो र मुस्किलले बुझिने उक्त रुक्का धनकुटाको ताङखुवा निवासी मुन्धुम तथा इतिहासविद भरत तुङघङसँग रहेको छ।’

वि।सं। १८९२ को वैशाखमा धनकुटाका वाहिदुमसिंह राईका नाममा उक्त रुक्का जारी भएको उनले बताए। नित्य पूजा र बडादशैंमा पञ्चबलि पूजाका लागि २२ मुरीको गुठी राखेको र बडादशैंमा पञ्चबलि दिनु भन्ने आदेश रुक्कामार्फत दिइएको भनाइ छ। मार्गाका पूजारी मांवु थरका आठपहरिया हुन्।

उनका सन्तानहरु चितदलसिंह, जितासिंह, प्रतापसिंह हुँदै पाँचौं पुस्ताका भरतसिंहले उक्त रुक्का जोगाएर राखेका हुनाले यो रुक्काबाट आठपहरियामा दशैं लादिएको थियो भन्ने प्रमाणित हुन आउने उनले दाबी गरे।

यसरी सरकारी तहबाट राजा नै लागेर लादिएको दशैंको अवज्ञा गर्दै रामलिहाङ र रिदामा अगुवा बनेर निस्केका हुनाले उनीहरुलाई मृत्यु दण्ड दिइएको उक्त रुक्काले बलियो बनाएको आठपहरियाहरु बताउँछन्।

देशमा आएको संघीयतापछि धनकुटाको चुलिवनलाई शहीद रामलिहाङ र रिदामा स्मृति पार्क घोषणा गरिसकिएको छ। आठपहरियाहरु वैशाखे पूर्णिमा, भदौरे पूर्णिमा र मंसिरे पूर्णिमालाई भब्यतापूर्वक मनाउने गरेका छन्।

धनकुटाका केही आठपहरियाले भने दशैँ मनाउने गरेका छन्। तर, उनीहरुले दशैंलाई आगन्तुक चाड भएको बताउँछन्। राणाहरुले दशैँ मान भनेर दबाब दिएका बेलादेखि र केहीले छिमेकीको संगतले दशैँमा राँगा र सुगुर मार हान्ने गरेको भए पनि टीका लगाउने चलन नरहेको महासचिव आठपहरियाले बताए।

 

सम्बन्धित समाचार