उपेन्द्रको विरोधमा वीरगन्जमा प्रदर्शन, पर्सा प्रवेश गर्न नदिने चेतावनी



वीरगन्ज । पर्साका सांसद प्रदीप यादवलाई मन्त्री नबनाएको विरोधमा उनकै दल जनता समाजवादी पार्टी ९जसपा० का कार्यकर्ताले वीरगन्जमा प्रदर्शन गरेका छन्। शनिबार दिउँसो वीरगन्जमा सांसद यादव निकटका कार्यकर्ता र समर्थकहरुले कालो झण्डासहितको मोटरसाइकल जुलुश निकालेका हुन्।

मोटरसाइकल जुलुशले नगर परिक्रमा गरेपछि घण्टाघर चोकमा सांसद यादवका सर्मथकहरुले जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको पुत्ला पनि दहन गरेका छन्। उनीहरुले उपेन्द्रको विरोधमा नाराबाजी गर्दै उनलाई पर्सा जिल्ला र वीरगन्जमा प्रवेश गर्न नदिने चेतावनी समेत दिएका छन्।

प्रदर्शनमा सहभागी जसपाका युवा नेता गौरव बर्माले भने विरोध प्रदर्शन कार्यक्रम पार्टीको कार्यक्रम नभई सांसद प्रदीप यादवका समर्थकहरु आफैले गरेको बताए। उनले भने,‘ उपेन्द्रले धेरै पटक पर्सा र वीरगन्जलाई ठग्दै आएका छन्, यसपाली पनि मधेसकै लोकप्रिय सांसद प्रदीप यादवलाई अन्तिम समयमा आएर मन्त्री बनाएनन्, उपेन्द्र काला नाग हुन्, उनलाई वीरगन्ज छिर्न दिइन्न।

सांसद यादवका कार्यकर्ताले शुक्रबार साँझ पनि वीरगन्जमा केन्द्रीय अध्यक्ष यादवको पुत्ला र पार्टी कार्यालयको साइन बोर्डमा आगो लगाएका थिए। सांसद यादवले भने पार्टी नेतृत्वले गल्ती गरेको भएपनि संयमता नगुमाउन आफना समर्थक र पार्टीका नेता कार्यकर्ताहरुसँग अनुरोध गरेका छन्।

सम्बन्धित समाचार