पाँचथर अस्पताल प्रकरण : स्थानीय प्रशासन र मृतकका परिवारबीच सहमति



पाँचथर । उपचारका क्रममा बालिकाको मृत्यु भएपछि तनावग्रस्त बनेको जिल्ला अस्पताल पाँचथरको समस्या समाधानका लागि चार बुँदे सहमति भएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय छलफलबाट प्रशासन र मृतक बालिकाका परिवारबीच चार बुँदे सहमति भएको हो ।

घटनाको छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न समिति गठन गर्ने सहमति भएको छ । नेपाल रेडक्रस सोसाइटी पाँचथर शाखाका सभापति कृष्णप्रसाद बाँस्कोटाको संयोजकत्वमा अस्पताल विकास समितिका सदस्य दीपक नेपाल, मृतक बालिकाका बाबु कमल थाम्सुहाङ र छिमेकी होमराज थाम्सुहाङ तथा जिल्ला अस्पतालका मेडिकल रेकर्ड अधिकृत नारायण जोशी सदस्य रहेको छानबिन समिति गठन गरिएको हो ।

यस्तै मृतक बालिकाका परिवारका सदस्यलाई उपयुक्त समयमा रोजगारीका लागि प्रयत्न गर्ने, मृतक बालिकाको काजकिरियाका लागि ४० हजार रुपैयाँ रकम अस्पताल विकास समिति र रेडक्रस सोसाइटी शाखाले उपलब्ध गराउने सहमति भएको छ । यस्तै आवश्यक कानूनी प्रक्रिया पूरा गरी बालिकाको शव अस्पतालबाट उठाएर शव परीक्षण गरी अन्तिम संस्कार गर्ने सहमति समेत भएको छ ।

फालेलुङ गाउँपालिका–८ घर भई फिदिम–२ बस्ने कमल थाम्सुहाङकी साढे तीन वर्षीया छोरी कृष्टिनाको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएपछि जिल्ला अस्पताल तनावग्रस्त बनेको थियो । उत्तेजित भीडले गरेको आगजनीमा अस्पतालका संरचनामा ठूलो क्षति पुगेको छ ।

सम्बन्धित समाचार