संखुवासभामा सेफ हाउसको आवश्यकता बिषयमा छलफल



संखुवासभामा सेफ हाउसको आवश्यकता टडकारो रुपमा देखिएको भन्र्दै सरोकारवाला बीच छलफल भएको छ । मंगलबार खाँदबारीमा गैरसरकारी संस्था समाज विकास केन्द्र (सोडेक)को आयोजनामा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव यामकुमारी खतिवडा, गृह मन्त्रालयका सहसचिव हुमकला पाण्डे, संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडा, खाँदबारी नगरपालिकाका उपप्रमुख डेगेश्वरी श्रेष्ठ लगायतको उपस्थितीमा छलफल भएको थियो ।

उक्त छलफल कार्यक्रममा जिल्लाको स्वास्थ्यको अवस्थाको बारेमा जिल्ला अस्पताल संखुवासभाका स्टाफ नर्स सुजता पौडेलले कार्यपत्र प्रस्तुत गरेका थिइन् । उनले विभिन्न प्रकार पिडीतहरु जिल्ला अस्पतालमा उपचारका लागि आउने गरेको तर भने जस्तो सहयोग गर्न सजिलो नभएको लगायतका विभित बारेमा जानकारी दिइएको थियो । त्यसैगरि सेफ हाउस निर्माणका लागि पहल थालिएको बारेमा सोडेकका कार्यक्रम अधिकृत कमानसिंह राईले जानकारी दिएका थिए ।

कार्यक्रममा सेफ हाउस अर्थात सुरक्षित आवासका बारेमा यसअघि देखि नै सोडेकले काम गर्ने योजना बनाएकाले र त्यसका लागि सरोकारवाला निकायहरुको सहयोगको खाँचो रहेको बिषयमा सोडेकका अध्यक्ष मेनुका श्रेष्ठले आग्रह गरिन् । उनले पिडित महिलाहरुलाई सुरक्षित रुपमा राख्नका लागि सेफ हाउसको आवश्यकता अत्यन्तै धेरै देखिएको छ काँहीकतैबाट पहलकदमी नभईरहेको समयमा संस्थाले दाता समेत खोजी गरि काम गर्ने योजना बनाएकाले स्थानीय तह, प्रहरी प्रशासन र मन्त्रालयहरुले सहयोग गरिदिनु पर्ने धारणा राखेकी थिइन् ।

सेफ हाउस स्थापना गर्नका लागि भवनको समेत आवश्यकता, त्यसको ब्यबस्थापनमा खर्च गर्नका लागि सोडेक तयार रहेको सोडेकको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव यामकुमारी खतिवडाले जिल्ला तहमा महिला तथा बालबालिका कार्यालय समेत स्थानीय तहमा गाभिएर गईसकेकाले महिलाको पिडा बुझने छुट्टै कार्यालय नभएकाले स्थानीय तहसंगै नै गुहार माग्नु पर्ने अवस्था रहेको बताईन् । उनले भनिन्—‘जिल्ला तहमा सेफ हाउसको आवश्यकता एकदमै देखेको छु, अब स्थानीय तह आफै गर्ने हो, यदि गर्न सक्दैन भने गैरसरकारी संस्थालाई अनुमति दिएर काम अगाडि बढाउन सकिन्छ तर स्थानीय तहको अनुमति बिना काम गर्न सकिदैन । मन्त्रालयबाट गर्नुपर्ने सहयोग गर्न हामी सद्धैब तयार छौ ।’

संखुवासभामा सेफ हाउसको बिषयले निकै चर्चा पाएपनि काम भने अगाडि बढ्न सकेको छैन् । गएको असारमा जिल्ला प्रहरी कार्यालयको परिसर भित्र सेफ हाउस निर्माणको काम शुरु भएको भएपनि विवादास्पद कारणले कामले पूर्णाता पाउन सकेको छैन् । उक्त सेफ हाउस निर्माणका लागि खाँदबारी नगरपालिकाले गएको आर्थिक बर्षमा १० लाख रुपैया बजेट समेत बिनियोजन गरेको थियो । भने चालु आवमा जिल्लाका अन्य स्थानीय तहले समेत बजेट बिनियोजन गर्ने जनाएको छ ।

क्षमता र पहँच पुग्दा प्रत्येक स्थानीय तहमा छुट्टा–छुट्टै सेफ हाउसको आवश्यकता देखिन्छ । तर, सबै पालिकाहरुले नसकेपछि जिल्ला स्तरमा एउटा सेफ हाउसको आवश्यकता टडकारो देखिएको सरोकारवालाहरुको भनाइ छ । सेफ हाउसको स्थापना गर्न सुरक्षाको समेत राम्रो प्रबन्ध गर्नुपर्ने भएकाले चुनौती समेत रहेको छ ।

सम्बन्धित समाचार