काठमाडौं महानगरको सहयोगमा ‘मानव सेवा आश्रम’को भवन बन्ने



काठमाडौं । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा नागार्जुन नगरपालिकामा ‘शहिद धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम’ भवन निर्माण हुने भएको छ ।उक्त नगरपालिकाको वडा नं. ६ स्थित सेतो गुम्बासँग जोडिएको बागेश्वरी मन्दिर परिसरमा १८ रोपनी सार्वजनिक जग्गामा उक्त भवन निर्माण हुने भएको हो ।

अव्यवस्थित सहयोगापेक्षी सडक मानव व्यवस्थापन एवम् मानवता प्रवर्द्धनका लागि मानव सेवा आश्रम सञ्चालन प्रयोजनका लागि सो भवन निर्माण गर्ने सम्झौतापत्रमा काठमाडौं महानगरपालिकाका तर्फबाट प्रमुख विद्यासुन्दर शाक्य, नागार्जुन नगरपालिका तर्फबाट मोहनबहादुर बस्नेत र मानव सेवा आश्रमका तर्फबाट अध्यक्ष रामजी अधिकारीले हस्ताक्षर गरे ।

काठमाडौं जिल्लाभित्रका विभिन्न सडक किनाराहरु एवम् सार्वजनिक स्थलहरुमा विभिन्न कारणहरुबाट घरवार विहिन भई खुल्ला आकाशमुनि अत्यन्त कष्टपूर्ण जीवनयापन गर्न विवश व्यक्तिहरुलाई सडकबाट तथा खुल्ला स्थानबाट उद्धार गरी काठमाडौं उपत्यकालाई नै सहयोगापेक्षी सडक मानवरहित शहर बनाउने उद्देश्यले नागार्जुन नगरपालिका र मानव सेवा आश्रमसँग भवन निर्माणका लागि सम्झौता गरेको काठमाडौँ महानगरपालिकाले जानकारी दिएको छ ।

‘काठमाडौं जिल्लाभित्र अव्यवस्थित रुपमा खुल्ला आकाशमुनि सडकका पेटीहरुमा अत्यन्त कष्टकर जीवनयापन गर्न विवश, शारीरिक तथा मानसिक रुपमा अशक्त, मनोरोगी, अनाथ, अपाङ्गता भएका, अशक्त तथा सहयोगापेक्षी सडक मानवहरुको उद्धार, उपचार, पालनपोषण तथा पारिवारिक पुनर्मिलन गराउने र त्यस्ता सहयोगापेक्षी मानव व्यवस्थापन एवं मानवता प्रवर्द्धनलाई दिगो व्यवस्थापन गर्न सहिद धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम निर्माण गरी संचालनमा ल्याउन यो सम्झौता गरेका हौँ,’ सम्झौतापछि प्रमुख शाक्यले भने ।

सम्बन्धित समाचार