विशेषज्ञ सेवा सहितको अस्पताल बनाउदै छौः सुमन शाक्य

२०३३ सालमा स्थापना भएको जिल्ला अस्पताल (खाँदबारी अस्पताल) चैत्र २३ देखि २५ गते सम्म भएको न्यूनतम मापदण्ड मापन विश्लेषणमा प्रदेश १ मै प्रथम भएको छ । प्रदेश नंं. १ का सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की नेतृत्वको प्राविधिक टोलीले गरेको मुल्याङ्कनमा १४ जिल्ला मध्ये ७१ प्रतिशत ल्याई प्रथम भएको हो ।

अस्पतालमा कार्यरत रहेको जनशक्ति, भएको सेवा प्रवाह, औजार उपकरणको उपलब्धता र प्रयोगका अवस्था, भौतिक अवस्था, बिरामीले पाएको सेवा प्रवाह, पानीको ब्यबस्थापन, फोहोरमैलाको ब्यबस्थापन, औजार उपकरणको मर्मत संम्भार र विपत्त हुदाँका योजना लगायतका ९ सय ३९ वटा सुचक भित्र रहेर गरिएको निरिक्षण र अवलोकनमा प्रादेशिक द्धितिय स्तर ५० शैया भएको अस्पतालहरुको तुलनात्मक मूल्याङ्कन गर्दा खाँदबारी अस्पताल प्रथम भएको हो । सोही अवसरमा ईमकालु अनलाईनका कार्यकारी सम्पादक नवीन गुरुङले जिल्ला समन्वय समितिका प्रमुख सेमत रहेका अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यसँग कुराकानी गर्नुभएको छ ।

अध्यक्ष ज्यु, ईमकालु अनलाईनको सम्बाद सृङ्खलामा स्वागत छ, प्रदेशमै प्रथम हुनुभएकोमा बधाई पनि ।

धन्यवाद ।

 जिल्ला अस्पतालको नेतृत्वमा कसरी आउनुभयो ?

हिजो सम्म स्वास्थ्य मन्त्रालयले जिल्ला अस्पतालका अध्यक्षहरु तोकेर पठाउथे । जसको सरकार छ उसैले जिल्लामा अध्यक्ष तोकेर पठाउथे । अहिले जिल्ला समन्वय समितिका प्रमुखलाई अस्पताल ब्यबस्थापन समितिको अध्यक्षको जिम्मेवारी दिएको छ । हामी जस्ता जनप्रतिनिधी आएपछि अस्पतालमा केही राम्रा काम गर्ने प्रयास गरेका छौ । म आएपछि सबैभन्दा पहिले अस्तापल भित्रका बेतिथीहरुलाई चिर्ने प्रयास गरे । कर्मचारीहरुसंग बसेर आन्तरिक छलफल गरे, समस्याको जड खोज्यौं । काम नगर्ने मानिसहरुलाई कारबाही पनि ग¥यौं । टिम स्प्रिड बढाएपछि सबैले सकारात्मक ढंगले अपनत्वका साथ काम गरिरहेका छन् । त्यसरी नै जिल्ला अस्पतालका गतिविधी अगाडि बढिरहेको छ ।

जनशक्ति कसरी परिचालन गरिरहनु भएको छ ?

नितीगत रुपमा नै सरकारले ब्यबस्थापन समिति भित्र जिसस प्रमुख ब्यबस्थापन समितिको अध्यक्षको जिम्मेवारी दिएको छ । भने त्योसंगै नेपाल रेडक्रस सोसाइटी सदस्य, बाणिज्य संघ सदस्य, जिल्ला प्रशासन सदस्य, जिल्ला प्रहरी कार्यालय सदस्य र खाँदबारी नगरपालिका प्रमुख सदस्य रहेको छ । यसले सबैमा सामुहिक नेतृत्व र अपनत्वको भावना पैदा भएको छ । फेरी पनि अस्पताल भित्र दिनरात खटिएर काम गर्ने त समिति भन्दा पनि कर्मचारीहरु नै हुन् । उनीहरुको समस्यालाई मध्यनगर गर्दै काम नगर्ने कर्मचारीलाई कारबाही गरेपछि टिम स्प्रिड बढेको छ । उनीहरुको आफ्नो अपनत्व बढ्ने गरि समितिले हौसला प्रदान गरेकाछौ । समय–समयमा छलफल र अब के गर्नु पर्छ भन्ने खालका बिषय छलफल गरिरहेकाले काम गर्न सहज भएको अनुभुति गरेको छु ।

जिल्ला अस्पताल उत्कृष्ट भएपछि के–के चुनौतीहरु थपिएका छन् भन्ने लाग्छ ?

पूर्वी पहाडी जिल्लामा संखुवासभा एउटा जिल्ला हिमाली जिल्ला भन्ने सबैलाई सर्वविदितै छ । यो हिमाली जिल्लाका अस्पताल प्रदेश नं. १ भित्रका १४ जिल्लामा उत्कृष्ट हुनपुग्यो । हामी संखुवासभाबासीका लागि यो अत्यन्तै राम्रो खबर हो । हाम्रो मेहनत खेर गएन । त्यसैले म जिल्लाबासी महानुभावका साथै अस्पतालका सम्पूर्ण कर्मचारी मित्रहरुलाई धन्यवाद ब्यक्त समेत गर्दछु । फेरी यो मूल्याङकन हामीले गर्ने होइन । अन्य जिल्लाका मेसु, सामाजिक विकास मन्त्रालयका विज्ञहरुको टिमले गर्ने हो । जिल्ला अस्पतालमा कार्यरत रहेको जनशक्ति, भएको सेवा प्रवाह, औजार उपकरणको उपलब्धता र प्रयोगका अवस्था, भौतिक अवस्था, बिरामीले पाएको सेवा प्रवाह, फोहोरमैलाको ब्यबस्थापन, औजार उपकरणको मर्मत संम्भार र विपत्त हुदाँका योजना लगायतका ९ सय ३९ वटा त्यसमा ९ सय ३९ वटा विभिन्न खालका इन्डीकेटरहरु राखेका हुन्छन् । सोही इन्डीकेटरको आधारमा मूल्याङकन गरिएको हो । उहाँहरुको मूल्याङकनबाट संखुवासभा जिल्ला अस्पताल प्रदेश स्तरमा प्रथम हुदाँ सबैमा खुशी समेत बाँडन चाहान्छु ।

फेरी पनि उत्कृष्ट भएपछि हामीलाई झन चुनौतीहरु समेत थपिएको महसुस गरेको छु । हामी उत्कृष्ट हुनु भनेको यो सबै टिम स्प्रिडका कारणले यो संम्भव भएको हो । अझै धेरै कामहरु गर्नु पर्नेछ । अघिल्लो बर्ष हाम्रो ६३ प्रतिशत नतिजा आएको थियो । यसो हेर्दा हामी बर्सेनि विभिन्न सेवाहरु अपग्रेड गरिरहेका छौ । यसले हामीलाई थप मद्धत पु¥याईरहेको छ । इन्डोस्कोपी, इको, थाइराइड सेवा, मधुमेहको चिकित्सकीय जाँच, कार्डिओइन्जायम लगायतका सेवा बिस्तार ग¥यौ । त्यसका साथै केहीदिन अगाडि मात्रै फिजियोथेरापी सेवा बिस्तार गरेकाछौ । यिनै सेवा सुविधाले ति इन्डीकेटरहरुलाई बढाउने हो । अब चाँडै हाडजोर्नी विशेषज्ञ सेवा बिस्तारका लागि डाक्टरलाई थप तालिममा पठाएका थियौ । उहाँ प्राप्त भएर आईसक्नुभएको छ । भने सामान तथा उपकरणहरु आउने क्रममा रहेको छ । त्यस पछि चाँडै संचालनमा ल्याउने छौ । त्योसंगै अर्को कल्चर सेवा सुचारु गर्ने तयारीमा छौ । ब्लड बैंक चाँडै संचालन गर्ने तयारीमा पुगेका छौ । आईसियु सेवा संचालन गर्ने तयारी गरिरहेका छौ । त्यसका लागि औजार उपकरण र तालिम प्राप्त चिकित्सक उपलब्ध भईसकेको छ । भवन अभाव कारणले मात्रै संचालन गर्नमा ढिलाई भएको हो । त्यसपछि सिटी स्क्यान सेवा समेत थप गदैछौ ।

अन्य साझेदारी संघ संस्थाहरुसंग समन्वय र सहकार्य कस्तो छ ?

जिल्लाभित्रका स्थानीय दातृ निकाय तथा संघसंस्थाहरुसंग त हाम्रो सहकार्य र साझेदारी कार्यक्रम छैन् । अहिले हामीसंग प्रदेश स्तरका स्वास्थ्यसंग सम्बन्धित काम गर्ने संस्थाहरुसंग समन्वय र सहकार्य गरेर काम अगाडि बढाईरहेकाछौ । अहिले हामीसंग सहकार्य भएका आमा सुरक्षा कार्यक्रम NSI रहेको छ । NSI ले डाक्टर र नर्स नै उपलब्ध गराएको छ । उसैको सहकार्यमा शल्याक्रिया, प्रसुतीको काम गरिरहेका छौ । सरकारसंग माग गर्दा त्यो दिन सकेको छैन् । हामी यसैको भरमा छौ । डाक्टर बिदा बस्दा हामीलाई समस्या हुन्छ । त्यसपछि करुणा फाउण्डेसनसंग पनि सहकार्य गरिरहेका छौ । अनि त्यसपछि वनहर्ट वल्डवाइड भन्ने अर्को संस्था छ । यो संस्थाले जिल्ला अस्पतालका बर्थिङ सेन्टरहरुको निर्माण र मर्मत संम्भार लगायतका कामहरु गरिरहेको छ ।

दरबन्दी अनुसारका कर्मचारी अहिले पनि अस्पतालमा छैन, पदपूर्तिका लागि के गरिरहनुभएको छ ?

दरबन्दी अनुसार जिल्ला अस्पतालमा बिशेषज्ञ डाक्टर ९ जना हुनुपर्ने हो । स्थायी ५८ जनाको दरबन्दी भएपनि स्थायी कर्मचारी अहिले अस्पतालमा २० जना मात्रै कार्यरत हरेका छन् । त्यसैले करार नियुक्ति गरि हाल ६८ जनाले काम गरिरहेका छन् । त्यसमा ब्यबस्थापन समितिबाट १७ जना, प्रदेश सरकारबाट २७ जना, ल्।क्।क्ष्। संस्थाबाट ४ जना गरि ६८ जना कार्यरत रहेका छन् । सेवाप्रवाह नै बन्द हुने अवस्था आएको खण्डमा समिति र प्रदेशबाट करार सेवामा कर्मचारी नियुक्ति गरि सेवा प्रवाहलाई गुणस्तरीय ढंगले अगाडि बढाई रहेका छौ ।

हामीले भानुभक्त पोख्रेल स्वास्थ्य मन्त्री हुदाँ गएर धेरै पटक पहल ग¥यौं । संघीय सरकारसंग धेरै पटक अनुरोध गर्ने काम भयो । डाक्टरहरु पहाडी जिल्लामा दुर्गम भएकाले आउने नचाहने कारणले पनि समस्या छ । फेरी अर्को कुरा हाम्रो जिल्ला अस्पताल प्रदेश सरकारले हेर्ने गर्छ । संघ र प्रदेश सरकारसंग अनुरोध गर्दा एमबिबिएस डाक्टर उपलब्ध गराएपनि बिशेषज्ञ डाक्टर पठाउन सक्दैनौ भने जवाफ आँउछ । अर्कोतिर २०३३ सालमा बनेको १५ बेडको अस्पताललाई २५ हुर्दै ५० बेडको अस्पताल बनाएपनि नयाँ भवन निर्माणधीन चरणमा रहेकाले सेवाग्राहीलाई भने जति सेवा सुविधा दिन सकेको छैन् । कर्मचारी ब्यबस्थापनका साथै अस्पपाल गुणस्तरीय बनाउन आफुले सकेको पहल र काम गरिरहेको छु ।

अस्पतालमा जनगुनासो पनि आउने गर्छन्, गुनासोको सुनुवाई कसरी गर्दै आउनुभएको छ ?

जिल्ला अस्पताल सबैको जनचासो भएको ठाउँ हो । यहाँ दैनिक रुपमा धेरै सेवाग्राही आउने थलो हो । जनगुनासो नै नआउने भन्ने हुर्दैन् । अस्पतालमा मात्रै होइन हरेक ठाउँमा हुन्छन् । अहिले मानिसहरु हरेक ठाउँमा छिटो र छरितो सेवासुविधा खोज्छन् । त्यसैले बिरामी लिएर अस्पताल पुगेको अवस्थामा तुरुन्तै डाक्टरले हेरिदिएन भने सेवाग्राहीको गुनासो भैहाल्छ । त्यसपछि फोन गर्छन् । डाक्टरको चेकजाँच गर्ने पालैपालो हुन्छ । सेवाग्राही त्यो बुझेको हुर्दैन । जाने बित्तिकै सेवा नपाए गुनासो गर्छन । सेवाग्राहीले एक जना गएर अर्को डाक्टर आउने पालो भन्ने बुझ्दैनन् । त्यहि माथि हामीसंग पर्याप्त जनशक्ति समेत छैन् ।

त्यो बाहेक अर्को बढि गुनासो आउने भनेको पोष्टमार्टम गर्दा हो । पोष्टमार्टम लाश ल्याउने बित्तिकै हुदैन भन्ने छ । पोष्टमार्टम गर्न पुलिस केस भएकाले प्रक्रिया नपुगेसम्म त्यसमा केही ढिलाई हुन्छ । बेलुकी ५ बजेपछि पोष्टमार्टम गर्न प्राविधिक रुपमा केही समस्या रहेछ । दिउँसो सूर्यको प्रकाशमा पोष्टमार्टम गरेजस्तो बत्तीको उज्यालोमा नहुदो रहेछ । त्यसपछि अर्को गुनासो भनेको फार्मेसीमा औषधी लिने बिषयमा अलि बढि गुनासो आउने गरेको छ । स्वास्थ्य बीमितले सुगर र प्रेसरका बिरामीले खाने अर्कै कम्पनीको औषधी दियो भन्ने गुनासो अलि बढि आउने गरेको छ । उहाँहरुले नै खाने खालका कम्पनीका औषधी दिने ब्यबस्थापनमा लागि रहेकाछौ ।

कहिलेकाँही निःशुल्क दिने औषधीहरु माथिबाट हामीलाई ढिलो गरि प्राप्त हुन्छ । स्टोरमा नै नभएपछि कहिलेकाँही सेवाग्राहीलाई दिने बिषयमा समस्या आउने गरेकाछन् । अर्को समस्या स्वास्थ्य बीमा बापतको रकम १ करोड ७० लाख ३ सय १० रुपैया रकम सरकारले पैसा नदिदाँ हामीलाई समस्या भइरहेको छ । तर जति समस्या र गुनासा आएपनि हामीले तुरुन्तै समाधान समेत गरिरहेका छौ ।

तपाई अध्यक्ष बनेर आउनु भएपछि अस्पताल सुधारका लागि के के कुराहरुलाई प्राथमिकतामा राख्नुभयो ? के के काम गर्नुभयो ?

म अध्यक्षको नेतृत्व सम्हालेर आएपछि सबैभन्दा पहिले भौतिक संरचनामा प्राथमिकता दिए । त्यसपछि कर्मचारीहरुको आन्तरिक ब्यबस्थापनलाई मजबुद बनाए । त्यसपछि गुणस्तरीय सेवाप्रवाहमा चासो राखे । अनि त्यसपछि हाम्रो मुख्य योजना विशेषज्ञ सहितका सेवा बिस्तार रहेको छ । अस्पतालको बाहिरी आवरण नै सबैभन्दा मुख्य कुरो रहेछ । त्यसैले रंगरोगन गर्ने काम भयो । भुईमा टायल लगाउने काम ग¥यौ । ठाउँ–ठाउँमा सुचना बोर्ड राखेका छौ । पहुँचवालाले अगाडि सेवा लिने पहुँच नहुनेले नपाउने भन्ने गुनासो बढेपछि स्पिकर राखेका छौ । टिकट काटेपछि पालैपालो नाम बोलाएर चेकजाँच हुने गर्दछ । डिजिटल बोर्ड राखेका छौ । अस्पतालको बाहिर सुन्दरता र फोहोर मैला ब्यबस्थापन गरि सफा र चिटिक्क बनाउने काम गरेका छौ । यहि बीचमा खानेपानीमा ट्रिटमेन्ट प्लान गरि स्वच्छ खानेपानीको ब्यबस्थापन गरेका छौ । यहि खानेपानी अस्पतालका कर्मचारी र सेवाग्राहीहरुले खानुहुन्छ । त्यो बाहेक अर्को टिकट काउण्टरको ब्यबस्थापन राम्ररी गरिएकाले एक डेढ सय सेवाग्राही लामबद्ध हुदाँ समेत भित्र भीडभाड नहुने गरि ब्यबस्थापन गरेकाछौ । धेरै दाताहरुले आफन्तको नाम चौताराहरु निर्माण गरिदिएकाले सजिलो भएको छ । अस्पताल नजिकै क्यान्टिन राम्ररी सुचारु गरेका छौ । यो पनि एउटा सफलता नै हो भन्ने लाग्छ ।

अव जिल्ला अस्पतालको आगामी रणनिती र गर्नुपर्ने सुधारका क्षेत्र के–के छन् ?

भौतिक संरचना बनाउने बिषयमा संघीय सरकारले अर्को भवन निर्माणधीन रहेको छ । अब चाँडै अक्सिजन प्लान बन्दैछ । ठाउँ अभावले आइसियु संचालन गर्न समस्या भएको छ । सिटी स्क्यान ल्याउने बिषयमा छलफल भइरहेको छ । बीमाको पैसा रोकिएकाले समस्या भएको हो । पैसा भए हामी ल्याउने तयारीमा थियौं । अरुण तेस्रो परियोजनासंग पनि छलफल भइरहेको छ । समग्रमा यि माथि भनिएका कुराहरु ब्यबस्थापन गरियो भने पहाडी क्षेत्रमा राम्रो हुन्थ्यिो । अहिले बिशेषज्ञ डाक्टर ल्याउन तत्काल सरकारले नपठाउने भएपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसंग समन्वय गरि विशेषज्ञ अध्ययन गर्दै गरेका दोस्रो र तेस्रो बर्षका विद्यार्थीहरुलाई यहाँ ल्याउने बिषयमा छलफल भईरहेको छ । सहकार्य र समन्वय गर्दा उहाँहरुलाई यहाँ ल्याउन सकियो भने ति विशेषज्ञहरुले यो अस्पतालमा सेवा दिनेछन् ।

अन्त्यमा के भन्नुहुन्छ ?

सरकारको स्वास्थ्य नितीले प्रत्येक १० हजार नागरिकका लागि ५ वटा डाक्टर भनिएको छ । त्यसरी हेर्दा हाम्रो प्रत्येक स्थानीय तहमा डाक्टर हुनु पर्ने हो तर त्यो हुन सकेको छैन् । यो अस्पताल जिल्लाको मुख्य अस्पताल र रिफरल सेन्टर समेत भएकाले बिशेषज्ञ डाक्टरको आवश्यकता टडकारो छ । समस्या अब के छ भने फेरी दुई बर्ष पछि त्यही करारमा पठाएको एमडीजिपी डाक्टर समेत गएपछि अर्को आउने बिषय समस्या हुने संम्भावना छ । अहिले हामीलाई भौतिक संरचना भन्दा दक्ष जनशक्तिको बिषयमा अभाव हुने होकी भन्ने बिषयमा चिन्ताका साथ चासोले हेरिरहेका छौ ।

यो अस्पताललाई पूर्वी पहाडी जिल्ला मात्रै होइन । नेपालमा नै सरकारी अस्पताल पनि नमुना हुदो रहेछ भनेर बनाउन प्रयास गरिरहेका छौ । तर त्यसका लागि यहाँका नागरिक समाज, राजनैतिक दल, पत्रकार र विभिन्न ब्यक्तिब्यक्तित्व र संघसंस्थाहरुको सहकार्य, समन्वय र सद्भावको आवश्यकता देखिएको छ । सबैको साथ सहयोग भयो भने नमुना अस्पताल बनाउन धेरै समय लाग्र्दैन ।

तपाईको प्रतिक्रिया

सबै

सम्बन्धित समाचार