बहस: सगरमाथा कि चोमोलुङ्मा ?

हालसम्म विश्वको अग्लो हिम चुचुरो मानिएको आठ हजार आठसय ४८ मिटर अग्लो हिमाल सगरमाथालाई अबदेखि स्थानीय आदिवासी जनजातिहरुले पुकार्दै आएको नाम ‘चोमोलुङ्मा’ बाट नै किन सम्बोधन नगर्ने ? यस विषयमा पनि अब व्यापक रुपमा बहस, छलफल अन्तरक्रिया होस् भनेर पाठकहरु माझ यो लेख प्रस्तुत गर्ने जमर्को गरेको छु । सगरमाथा अर्थात् चोमोलुङ्मा केवल नेपाल र नेपालीका लागि मात्रै नभएर संसारभरिकै मानिसका लागि गौरवको विषय हो । झन् विश्वभरका पर्वतारोहीका लागि त एकपटक चढ्न पाए वा चढ्न सके विश्वसामु आफ्नो शीर ठाडो पार्ने अवसर मात्रै नभएर इतिहासमा स्वर्ण अक्षरले आफ्नो नाम लेखाउने अवसर पनि हो –चोमोलुङ्मा ।

जे होस्, प्रथमपटक सन् १८५२ मा चोमोलुङ्माको विषयमा खोज अनुसन्धान शुरु भएको थियो । सँग–सँगै चोमोलुङ्माको उचाइको बारेमा पनि खोज–अनुसन्धान र नाँप जाँच हुँदै गयो । त्यस क्रममा पटक–पटक चोमोलुङ्माको उचाई नाप्ने क्रम चल्यो । अहिले पनि बेलाबेला चोमोलुङमाको उचाईबारे कहिले घटेको कहिले बढेको भनी चर्चा चल्ने गरेको छ । सायद भविश्यमा पनि यो क्रम चली रहने छ ।

यसरी चोमोलुङ्माको उचाई नाप्ने क्रममा सन् १८५२ मा ८,८४० मिटर, सन् १८५४ मा ८,८४८ मिटर, सन् १८८० देखि १९०२ सम्म ८,८८२ मिटर, सन् १९९९ मा ८,८५० मिटर र, पछिल्लोपटक सन् २००६ मा चीन सरकारले गरेको अध्ययन अनुसार ८,८४६ मिटर मानिएको छ । तापनि नेपाल सरकारले भने हालसम्म ८,८४८ मिटरलाई नै चोमोलुङ्माको आधिकारिक उचाई मान्दै आएको छ । हुन पनि फ्रेन्च लेखकद्वय ए. पोउसबिन र एस. टेसोनले पनि आफ्नो पुस्तकमा चोमोलुङ्माको उचाई ८,८४६ मिटर नै लेखेका छन् । उता ‘वेस्टरम्यान’ नामक विदेशी संस्थाले छापेको विश्वको नक्सामाचाहिंँ चोमोलुङ्माको उचाई ८,८७२ मिटर भनी लेखिएको उल्लेख गरिएको छ । यसरी चोमोलुङ्माको उचाई कहिल्यै एकैनासको थिएन/छैन ! अझ वैज्ञानिकहरुले त चोमोलुङ्माको उचाई हजारौं बर्षअघि अहिलेको भन्दा दोब्बर अग्लो थियो भनी केही वर्षअघि प्रकाश पारेका थिए । अब छलफल सुरु गरौं, चोमोलुङ्माको नामहरुका सम्बन्धमा पनि ।

हाल नेपालीहरुमाझ सगरमाथा र विदेशीहरुमाझ एभरेस्ट भनेर बढी चिनिने चोमोलुङमाको सुरुको नाम चोमोलुङमा नै हो । पछि (विक्रम संवत् २०१०/२०१३ मा) भाषामा चोमोलुङमाको नाम ‘सगरमाथा’ रहन गयो । चोमोलुङमाको नेपाली नाम राख्ने व्यक्ति इतिहासकार बामुराम आचार्य हुन् । हजारौं वर्षदेखि उक्त क्षेत्रमा बसोवास गर्दै आएका किराती भित्रका कुलुङ, खालिङ, थुलुङ, शेर्पा जाति बस्दै आएका थिए/छन् । किरातहरुको संवत् येले संवत् ५०७७ चल्दै छ । इतिहासकार बाबुराम आचार्यले भने झैं विक्रम संवत् २०१०÷२०१३ सालसम्म चोमोलुङमाको नाम त्यहीका स्थानीयवासीले जानेका/सुनेका थिएनन् ? बाबुराम आचार्यले ‘सगर’ र ‘माथा‘ लाई जोडेर सगरमाथा भनी नाम राख्नु अघि ओखलढुंगा, रामेछाप र सोलुखुम्बु डुलेर स्थानीय जनतासँंग सोध–खोज गरेर र, छलफल चलाएर ‘‘सगरमाथा‘‘ नाम जुराएको भन्ने भनाई रहेको छ । सांँच्चै त्यसरी सोधखोज हु“दो हो त पक्कै पनि सोलखुम्बुका कुलुङ, खालिङ, थुलुङ, शेर्पा आदि जातजातिले ‘चोमोलुङमा‘ नै भन्थे ।

यसरी हेर्दा चोमोलुङमाको मौलिक नामको सम्बन्धमा भन्नु पर्दा त्यो बेला सरासर अन्याय भएको देखिन्छ । जे भए तापनि अधिकांश विदेशीले चोमोलुङमा अर्थात् सगरमाथाबारे गरेको अध्ययन–अनुसन्धान, लेख, रचना, किताब, वृत्तचित्र आदिमा अंग्रेजीमा एभरेष्ट र नेपालीमा चोमोलुङमा नै लेखेको पाइन्छ । कतिपयलाई पत्याउन गाह्रो भए तापनि सुरुमा चोमोलुङमाको अनेक नामहरु थिए । जस्तैः चरी लमेनी, एक्स भी, पन्ध्रौं चुली, देवढुंगा, पिक बि, मितीगुती, चापोलुङमा, झोमोलुङमा, कोमोलुङमा, चायुलुङमा, पिक फिप्टिन, माउण्ट एभरेष्ट, पृथ्वीकी देवी, द गडेस अफ द स्काई, थर्ड पोल, चोमोलुङमा, गडेस मदर अफ द वल्र्ड, भैरवनाथ आदि । तापनि हाल चोमोलुङ्मालाई विदेशीमाझ माउण्ट एभरेष्ट र नेपालीमाझ सगारमाथा नामले बढी चिनिन्छ ।

मौलिक र, स्थानीय नाम विस्थापित भएका हिमाल नेपालमा धेरै छन्, केवल चोमोलुङमा मात्रै होइन । जस्तो कि, विश्वकै तेस्रो अग्लो कञ्चनजंघा हिमाललाई लिम्बु भाषामा ‘सेवालुङ‘ भनिन्छ भने जान्नु वा कुम्भकर्णलाई ‘फक्ताङलुङ‘ भन्छन्, लिम्बुहरु । यता विश्वको पाँचौं अग्लो मकालु हिमाललाई कुलुङ जातिको भाषामा सेसेलुङ भनिन्छ । यसरी स्थानीय र मौलिक नाम गुमाएका हिमालहरु खोज्दै जाँंदा नेपालमा अरु धेरै भेटिन्छन् । नेपालमा आएको परिवर्तनको हावाले अतिक्रमित र विस्थापित हिमालका नाम पुनः स्थापित हुने अवसर पाओस् भन्ने यो पंक्तिकारको आशय हो । किनभने, भारतकोे बम्बई भनिने औद्योगिक सहर हाल ‘मुम्बई’ भएको छ ।

त्यस्तै पहिलेको मद्रास हाल ‘चेन्नई’ भएको छ भने पश्चिम बंगाल राज्यको राजधानी कलकत्ता ‘कोलकाता’ भएको छ । पश्चिम बंगाल राज्यको नाम पनि अब बंगाली भाषामा राखिने बताइएको छ । त्यसैले नेपालमा पनि संघीयतासँगै विभिन्न कारणले अतिक्रमित वा विस्थापित भएका स्थान नामका साथै ‘चोमोलुङ्मा’ लगायतका हिमालका मौलिक नामहरु स्थापित हुनु पर्छ । यो नै संघीयतको मूल मर्म पनि हो । युगको माग पनि हो ।

[email protected]

तपाईको प्रतिक्रिया

सबै

सम्बन्धित समाचार