घोषणापत्रको प्रतिबद्धता पुरा हुने क्रममा छः पासाङ नुर्वु शेर्पा (अन्तरवार्ता)

सङ्खुवासभाको दश स्थानीय तहहरु मध्ये भुगोल र जनसंख्याको हिसावले सवैभन्दा सानो स्थानीय तह हो चिचिला गाउँपालिका । साविक दिदिङ र मत्स्यपोखरी गाविसलाई समेटेर बनाईएको यस गाउँपालिका मा ५ वटा वडाहरु छन् । ८८.६३ बर्ग किलोमिटर क्षेत्रफल रहेको यस गाउँपालिकामा ७ हजार ६५ जनसंख्या रहेको छ । सानो गाउँपालिका भएपनि यहि अरुण तेश्रो जलविद्युत परियोजना निर्माणाधिन अवस्थामा छ भने उत्तर दक्षिण कोशी राजमार्गले पनि यहि गाउँपालिका छिचोल्नु पर्छ ।

यस गाउँपालिकामा पर्यटन ब्यावसायी पासाङ नुर्वु शेर्पा २०७४ को निर्वाचनमा अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । २०७० सालबाट नेपाली कांग्रेसमा आवद्ध हुनुभएको शेर्पा तरुण दलको जिल्ला सदस्यमा रहदा गाउँपालिका अध्यक्षको उमेदवार बन्नुभएको हो । शेर्पा राजनितिक भन्दा पनि सामाजिक क्षेत्रमा बढी सक्रिय हुनुहुन्थ्यो । बार्षिक ६० मन (४० किलोग्रामको एक मन) भन्दा बढी अलैंची उत्पादन गर्दै आउनुभएको शेर्पा अलैंची ब्यवसायी संघको केन्द्रीय सदस्य समेत हुनुहुन्छ । अध्यक्ष शेर्पासँग पत्रकार ध्यान कुलुङले कुराकानी गर्नुभएको छ ।

१) निर्वाचन अघि तपाईको घोषणापत्रमा जे जे भन्नुभएको छ, ति सवै प्रतिबद्धता पुरा हुँदै गएका छन् ?
हामी निर्वाचित भईसकेपछि हाम्रो घोषणा पत्र अनुसार नै हामीले कार्य योजना बनाएका थियौं । हामीले एकपछि अर्को गरेर हाम्रो योजना अनुसार काम गर्दै आएका छौं । हाम्रो योजना अनुसार केहि कामहरु सम्पन्न भईसकेका छन् भने केही निर्माणाधिन अवस्थामा छ । हाम्रो ५ वटै वडामा स्वास्थ्य चौकी स्थापना गरेर सेवा विस्तार गर्ने भनेका थियौं, अझ हामीले ७ स्थानमा स्वास्थ्य चौकी बनाएर सेवा विस्तार गरिरहेका छौं । प्रत्येक टोल टोलमा सडक विस्तार भएका छन् । एक टोल बाहेक सवै टोलमा विद्युत पुराईसकिएको छ । शैक्षिक गुणस्तर बढाउनका लागि शिक्षक अपुग विद्यालयमा गाउँपालिका आफैले दरबन्दि सिर्जना गरेर २५ जना शिक्षकहरु नियुक्त गरेर अध्यापन भईरहेको छ । गाउँपालिका वासीहरुको आर्थिक उन्नतीका लागि ब्यवसायिक कृषी तथा पशु पकेट क्षेत्र घोषणा गरेर उत्पादनमा जोड दिईएको छ । गाउँपालिकाकै गौरवको योजनाको रुपमा पर्यटन विकासका लागि मकालु हिरक पार्क, बलुथाम र मत्स्यपोखरीको डिपिआर बनाएर शिलान्यस भईसकेको छ । यो संघ र प्रदेशको साझेदारीमा निर्माण हुनेगरि शिलान्यस गरिएको हो । हाम्रो विकासको आधार हाम्रो घोषणा पत्र नै हो, त्यसैको जगमा बसेर कार्य योजना बनाएका छौं । हामी एकपछि अर्को गरेर प्रतिबद्धता पुरा गर्न लागेका छौं ।

२) निर्वाचित हुनुभएको करिव चार बर्ष भयो । यो विचमा गर्नुभएका कामहरुबाट गाउँपालिका वासी सन्तुष्ट छन् जस्तो लाग्छ ?
छन् । किन पनि सन्तुष्ट छन् भने हाम्रा योजना, कार्यक्रम र बजेट निर्माणको क्रममा स्थानीय नागरिकहरुको पर्याप्त सहभागिता हुन्छ । हाम्रा गौरवका योजनाहरु बाहेक प्रत्येक योजना र कार्यक्रम उनीहरुकै मागको आधारमा विनियोजन गरिन्छ । टोलटोलमा भेला गरेर पारित गरेका योजनाहरुमा हामीले बजेट विनियोजन गर्ने हुँदा हाम्रा नागरिकहरु खुसी छन् । कार्यक्रम र योजना सम्पन्न भएपछि अनुगमनका लागि हामी स्थलमा पुग्दा खुसी ब्यक्त गर्छन् । यत्ति हुँदा हुँदै पनि सिमिति श्रोतका कारण योजना नपाएकाहरुको गुनासो पनि छन् नै । तर प्राथमिकताको आधारमा माग सम्बोधन गर्दै आएका छौं ।

३) संघिय संरचना कार्यन्वयनको क्रममा पहिलो पटक स्थानीय तहको नेतृत्व तपाईहरुले गर्नुभएको छ । कस्ता कस्ता चुनौतीहरुको सामना गर्नु पर्छ ?
हेर्नुस, सुरु सुरुमा चुनौति त यत्ति धेरै थिए, भनेर साध्य नै छैन । तर हामी उत्साहित पनि थियौं, छौं । जनप्रतिनिधी विहिन अवस्थामा राजनितिक दलहरुको सक्रियतामा हरेक काम हुँदै आएकोमा हामी निर्वाचित भईसकेपछि पनि पार्टीका नेतृत्वहरुले समान अस्तित्व खोजिरहदा समस्या उत्पन्न भएको थियो । अहिले सवैको बुझाई परिवर्तन भएको छ । स्थानीय राजनितिक दलका नेतृत्वहरुको पनि सहयोग मिलेको छ । सवै निति तथा कार्यविधि आफैले बनाएर कार्यन्वयन गर्नु पर्दा समस्या भएको थियो । कर्मचारी अभावको कारण कार्य सम्पादन गर्न समस्या थियो, अझै पनि छ । तर अहिले कत्तिपय कर्मचारीहरु हामी आफैले नियुक्ति गरेका छौं । जे होस, नयाँ ब्यवस्थामा नयाँ नेतृत्वलाई गारो नै थियो । अहिले सवै सहज हुँदै आएको छ ।

४) विकास निर्माणका लागि प्रदेश र संघिय सांसदहरुसँग कसरी समन्वय गर्नुभएको छ ? कस्तो सहयोग पाईरहनुभएको छ ?
साना योजनाहरुमा गाउँपालिकाले नै लगानी गर्ने र ठुला तथा गौरवका योजनाहरुमा प्रदेश र संघसँगको साझेदारीमा योजना सम्पन्न गर्ने हाम्रो निति छ । कत्तिपय योजनाहरुमा हाम्रा माननीयहरुबाट राम्रो सहयोग प्राप्त भएको छ । तर कत्तिपय योजनाका लागि भने हामीलाई कम चासो दिईएको हो कि जस्तो पनि नलागेको होईन । गाउँ अधिवेशनबाट नै आफुले गर्ने योजना र माथिल्लो निकायसँग माग गर्ने योजनाको लिष्ट तयार गरेर डिपिआर सहित माग पत्र पठाईन्छ । तर, त्यसको आधारमा नभई कुनै ब्यक्तिको ईच्छाको आधारमा योजनाहरु आईरहेको पनि छ, जुन योजना भन्दा अरु नै गाउँपालिकाको प्राथमिकतामा हुने गर्दछ । मैले के मात्र भन्न खोजेको हो भने, समन्वय नभएको होईन तर कहिले काहि हाम्रो मिसन बाहिरका योजनाहरु आउछन् । त्यसरी भन्दा पनि हाम्रो कार्य योजना अनुसारको बजेट आओस भन्ने हाम्रो चाहना हो ।

५) ९ सय मेगावाट क्षमताको अरुण तेश्रो जलविद्युत परियोजना पनि तपाईको गाउँपालिकामा पर्छ । योजना विकास सम्झौता (पिडिए) अनुसार प्रभावित क्षेत्रमा उनीहरुले पनि विभिन्न क्षेत्रको विकास गर्नु पर्नेछ । अरुण तेश्रोबाट तपाईको गाउँपालिकामा कस्ता विकासहरु भईरहेका छन् ?
विस्थापित क्षेत्रमा भौतिक निर्माण, सिप विकास, शिक्षा सुधार लगायतमा खर्च गरिनु पर्ने लगायतको पिडिएमा उल्लेख गरिएको छ । उक्त कामहरु मध्ये केहि काम भर्खरैबाट मात्र सुरु भएका छन् । अहिले ३ वटा विद्यालयहरुमा ४ कोठे भवन बन्ने काम सुरु भएको छ । जालपा माध्यमिक विद्यालय, आहाले आधारभुत विद्यालय र त्रिबेणी आधारभुत विद्यालयको भवन भर्खरैबाट सुरु गरिएको छ । सिप विकास तर्फ तालिमको सुरुवात हुन लागेको छ भने २ बर्षदेखि यता २ जनाको दरले छात्रबृत्रि वितरण भईरहेको छ । तर यी उपलब्ध हासिल गर्नको लागि पनि फलामको चिउरा चपाउनु जस्तै हुने रहेछ । अरुण तेश्रोलाई यी कमहरुका लागि पटक पटक भन्दा पनि नभएपछि लगानी बोर्डलाई गुहार्दा बल्ल सुरुवाती चाँही भएको छ । पिडिएमा उल्लेख गरिएको थुप्रै कुराहरु कार्यन्वयन हुन सकिरहेको छैन । यस्तै विषयमा यहाँका नागरिकहरुले पटक पटक आन्दोलन पनि गरेका छन् ।

५) स्थानीय तहहरुमा बेरुजु बढ्दो छ । तपाईको गाउँपालिकामा चाँहि बेरुजुको अवस्था कस्तो छ ? बेरुजु फस्र्योट कसरी गरिरहनुभएको छ ?
मुख्य गरि असुल उपर र सैद्धान्तिक गरि दुई किसिमको बेरुजु हुन्छ । नियतबस आर्थिक अपचलन गरेको वा कुनै कामको लागि लिएको पेस्की रकमलाई असुल उपर बेरुजु भनिदो रहेछ । यस्तो प्रकृतिको बेरुजु हाम्रोमा निक्कै कम छ । हाम्रो कार्यकालमा यस्तो बेरुजुलाई शुन्य बनाउने हाम्रो प्रतिबद्धता अनुसार काम गरिरहेका छौं । अझ हाम्रो कार्यकाल भन्दा अघिको विभिन्न ब्यक्ति र संस्थाहरुको नाममा रहेको असुल उपर हुने बेरुजु रकम पनि हामीले असुलेका छौं । अहिले कार्यक्रम गर्ने शिर्षकमा निकासा भएका रकमहरु बाहेक असुल उपर बेरुजु छैन । विभिन्न योजना र भैपरी आउने खर्चमा केहि नितिगत बेरुजुहरु छन् । जस्तो की, गत सालको कोरोना रोकथामका काममा गरिएका केहि खर्चहरुमा बेरुजु आउन सक्छ । नितिगत प्रकृया, बिल भर्पाई लगायत नमिल्दा यस्तो बेरुजु आउने रहेछ । यस्तो बेरुजु आउनु पनि राम्रो होईन, तर यसलाई पनि घटाउने प्रयत्नमा छौं । अन्य स्थानीय तहहरुको तुलनामा हाम्रो बेरुजु रकम न्युन नै हो ।

६) अब तपाईको कार्यकाल पुग नपुग एक बर्ष छ । तपाईको कार्यकाल सकिदा तपाईको गाउँपालिका कस्तो बन्नेछ ?
बास्तममा हामीले त्यत्ति ठुलो सपना देखेका थिएनौं । तर जे सपना देखेका छौं, त्यो पुरा गर्ने हाम्रो अठोट हो । मेरो कार्यकाल सकिदा गाउँपालिका विकासको पुर्वाधारहरु सम्पन्न भईसकेको हुनेछ । टोलटोलमा सडक पुगिसकेको हुनेछ । पालिकाको संस्थागत विकास तर्फ सवै वडाहरु र पालिकाको आफ्नै भवनबाट सेवा प्रबाह गरिएको हुनेछ । नागरिकहरु आफ्नै उत्पादनबाट राम्रो आमदामी लिएको हुनेछ । शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर बृद्धि भएको हुनेछ । एक घर एक धारासँगै स्वास्थ्य जीवन शैली अपनाउने सचेत नागरिकहरु हुनेछन् । पर्यटन तर्फको महत्वकांक्षी योजनाहरु मकालु हिरक पार्क, बलुथाम र मत्स्यपोखरीको निर्माण कार्य सम्पन्न नभएपनि सम्पन्न उन्मुख रहनेछ ।

तपाईको प्रतिक्रिया

सबै

सम्बन्धित समाचार