‘झम्के गुलेली’ले पहिलोपटक प्लेन चढायोः लोकगीत सर्जक भेटुवाल

‘झम्के गुलेली’को प्रसंग उठाउनेबित्तिकै कमलीकान्तभेटवाल यो गीतमा जोडिएका पृष्ठभूमिका सर्जकहरुप्रति नमन गर्छन् र नाम लिन्छन्, क्रमशः उमापती अधिकारी, हेमकुमारी कट्टेल, यत्नप्रसाद भेटवाल, शोभा वाराकोटी र पदम भेटवालको । यी नाम लिएपछि बल्ल उनले आफ्नो गीत ‘झम्के गुलेली’को कथाको पोको फुकाउन खोज्छन् ।

‘झम्के गुलेली’को पृष्ठभूमि अगाडि उनको सांगीतिक जीवनको पृष्ठभूमि खोलौं । घरमा बुवा यत्नप्रसाद भेटवाल भजन गाउँथे । समय र सुदूर भूगोलले यत्नप्रसाद भेटवाललाई स्टुडियो छिर्न दिएन । माइक अगाडि बसेर मादल, मुर्चुङ्गा, खैंजडी र सारङ्गीको सुरमा भाका हाल्ने मौका दिएन । त्यसैले उनी गायक कहलाउन सकेनन् । यत्नप्रसादले जस्तै गाउने भक्तराज आचार्य भजन शिरोमणि भए । तर उनको प्रतिभामा यसै काठ पस्यो ।

बुवाले गाएको कमलीकान्त देख्थे, सुन्थे र मोहित हुन्थे । उनलाई पनि गाउन मन लाग्थ्यो तर कहाँ दिन्थ्यो र उनकोलजालु स्वाभावले । उनको प्रतिभा प्रष्फुटन त हुन्थ्यो तर गाईबाख्रा चराउन गोठालो गएका बेलामात्रै । एकातिर लाज अर्कोतिर अध्ययन । गीत गुनगुनायो, सक्कियो ।

सङ्खुवासभामा बस्थे । पढाइ त्यस्तै थियो । आँखाका बिरामी उनी आउनुपर्ने भयो काठमाडौंको टिचिङ हस्पिटल । उपचारपछि बुवाले बिरामी भएकाले रेखदेख पनि हुन्छ यतै आइज भने तर तगारो बनिन् आमा । भनिन्, “छोरो भएपछि देशविदेश घुम्नुपर्छ । टाठोबाठो हुनुपर्छ । घरमै बसे कुवाको भ्यागुता भइन्छ, काठमाडौंमै बस् ।”

कमलीकान्त आमाको त्यो गुन कहिल्यै बिर्सिंदैनन् रे ! त्यसैले उनी भनछन्, “जे छु आमाको त्यो निर्णय र प्रेरणाले छु । स्रोतादर्शकसम्म पुगेको छु । यो सबै आमाले गर्दा नै भएको हो ।”

० ० ०

कमलीकान्त ०६६ सालमा कीर्तिपुरमा स्नातकोत्तर गर्दै थिए । रेडियो नेपालबाट ०६० सालमा स्वर परीक्षा पास गरिसकेका उनलाई सीमारेखा भित्र परे रेडियोले रेकर्ड गीत गरिदिन्थ्यो । कमलीकान्तले दाइँ गीत गाइसकेका थिए । ‘फूलै फूल्यो त’उनको पहिलो गीत भइगयो । दसैंमा घर गएका थिए । साँझ खान खाएर अँगेनोमाकाका, मामा, बुवा, दाजु आगो तापेर बसिरहेका बेला बुवा (यत्नप्रसाद भेटवाल)ले भने, “माइला तँ गाउन त गाइरहेको छस् । तर तँ यस्तो गीत गा त्यो केटाकेटी देखि बूढाबूढीलेसम्म गाउन् ।”

तर कस्तो हुन सक्ला त त्यस्तो गीत ?

यत्नप्रसादले अगाडि भने, “एउटा बूढाले गाउँछ हो साह्रै राम्रो गीत । त्यसलाई रेडियो नेपालमा लगेर गा न । तँलाई त रेडियोमा गाउनलाई पैसा पनि लाग्दैन ।”

मामाले शब्द भने, “सबैरै बाख्रा उकाली लागे ‘अरुनी’ बाख्रो खोइ भन होझम्के गुलेली ।”

अरुनी, सिंगारी, पेटारी नाम गरेका बाख्रा हुन्थे तर यी नाम धेरैका लागि अनौठा र के होला भन्ने लाग्न सक्छ भन्ने कमलीकान्तलाई लाग्यो त्यहीँ उनले अरुनी हैन घोर्ली बाख्रो भन्यो भने सबैले बुझ्छन् । यही राख्नुपर्छ ।

कमलीकान्तले यसको लय सुनौं त भने । तर मामालाई पनि लय कण्ठस्थ रहेनछ । धमिलो सम्झना मात्रै । काम चलेन ।

उमापती अधिकारीसँग यसको लय छ भन्ने अँगेनो गफमा निष्कर्ष निस्कियो ।

कमलीकान्तलाई ठूलदाजुले भने, “माथ्लो धुपुमा जा रोहेणी अधिकारी सरलाई भेट् र तल्लो गाउँ दुलाल माहिला (उमापतीका भाञ्जा)लाई गएर भेट् । केही शब्द उनीहरुसँग भेट्छस् ।”

रोहेणी अधिकारी (उमापतीका आफन्त) कोमा त गए कमलीकान्त तर उनले अहिले ‘झम्के गुलेली’मा परेका शब्ददिएनन् । अरुअरु नै दिए ।

कमलीकान्तलाई तुक्का र शब्दको भन्दा पनि लयको चिन्ता थियो । लय भेटियो भने तुक्का र शब्द त म जसरी पनि खोज्छु । दुलाल माइलालाई पनि भेटे कमलीकान्तले त उनले पनि खासै शब्द सम्झिएनन् । उनले यत्ती मात्रै भने, “मलाई थाहा छैन होऊ, मामाले झम्के गुलेली भनेको मात्रै सुन्थेँ ।”

पदम भेटवाल कमलीकान्तका काका उनले एउटा मार्मिक शब्द भने, जुन पछि गीतमा पनि समावेश गरियो । ‘हिमाली भेगको त्यो डाँफे चरी सिमलबासमा बस्ला, दुखिया ज्यानको बहनी हजुर कहाँ गई खस्ला’ ।

“सालघारी हुँदै म र मेरी फुपू दिदी शोभा बाराकोटी हिँड्दा काकाले भनेको शब्द सम्झिनु भन्दा उहाँले सम्झनु भएको हो । उहाँले मेरो माइलो दाजुले यसो भन्नुहुन्थ्यो गीत गाउने भइस् भने यो पनि राख् है भन्नुभयो । त्यो मैले राखेँ,” कमलीकान्त ०६६ सालतिरको कुरा सम्झिए ।

लय र शब्द संकलन गरे । ४० हरफ भयो । छाँटकाँट गरे । लय र शब्द तुनतान पारे । लाग्यो, यति भए रेडियो नेपालले रेकर्ड गरिदिन्छ ।

तर, रेडियो नेपालको सेन्सर बोर्डले आपत्ति जनायो । बमबहादुर थापा जितालीलगायत बोर्डमा सदस्य थिए । ‘पोई’ भन्ने शब्दमा बोर्डको आपत्ति थियो ।

रेडियो नेपालबाटै गाउने भए ‘पोई’ हटाउनु पर्यो । बाहिर गाउने हो भने पाइयो । बाहिर गाउँदा आफ्नै खर्च लाग्थ्यो । त्यसैले उनी हटाउने भए ।

तर के राख्ने ?

गायिका चन्द्रकला शाहले भनिन्, “‘हाई’ राखन ।”

कमलीकान्तलाई अंग्रेजी शब्द त के राख्नु भन्ने लाग्यो । गायक प्रेमदेव गिरीले भने, “भाइ ‘ओई’ भन्ने शब्द राख । नेपाली पनि हुन्छ । राम्रो हुन्छ ।”

कमलीकान्तलाई पनि मन पर्यो । अनुप्रास पनि मिल्ने । राम्रो पनि सुनिने । ‘ओई’ नै राख्ने भए । ०६६ फागुनमा गीत रेकर्ड भयो ।

रेकर्ड गर्दा रेडियो नेपालको बाद्यवादन शाखामा बेहोर्नुपर्ने हैरानी त कमलीकान्तले पनि बेहोरे । सांरगी मिले बाँसुरी बिग्रिने । बाँसुरी र सारंगी मिले मादल र खैंजटी बिग्रिने । आम समस्याका बीच पनि कमलीकान्तले भने गीत बिगारेनन् ।

गीत रेकर्ड हुँदै गर्दा बुलु मुकारुङ लगायतका केही श्रष्टा घुम्दै रेकर्डिङ स्टुडियो आइपुगेको कमलीकान्तले सम्झिए र उनीहरुले भनेको पनि उनले सुनाए, “हैन हो भाइ कस्तो राम्रो गीत गायौ र यस्तो गीत त रेडियोमा धेरै भएको थियो रेकर्ड नभएको ।”

उनले सोचेजस्तो गीत रेकर्ड भयो । मनै प्रफुल्लित । गीत रेकर्ड भएको कथा सुनाउँदा ९ वर्षपछि पनि कमलीकान्तको अनुहारमा खुसीका धर्साहरु उसैगरी दौडिएको प्रष्टै देखिन्थ्यो ।

पारिश्रमिक ४ सय रुपैयाँ पाए । (रेडियो नेपालले दिने पारिश्रमिक)

० ० ०

गीत रेकर्ड भयो । रेडियो नेपालले एकाध पटक बजायो पनि । तर स्रोताले नोटिस गरेनन् । एफएम रेडियोहरु आइसकेका थिए । तर रेडियोले रेकर्ड गरेपछि गीत उसकै सम्पत्ति । उसकै अधिकार ।
गीत सुन्नेले राम्रो भन्छन् । तर आम स्रोतामाझ गीत नै पुगेन । एफएमहरुले बजाउन पाएनन् । कसरी एफएम रेडियोहरुलाई गीत दिने ?

छटपटी भयो कमलीकान्तलाई । उनले मेरो गीत मैले एफएमहरुमा पनि बजाउन पाउनु पर्यो भनेर आग्रह गरे । तर रेडियो सुन्नै नमान्ने । मेरो सम्पत्ति हो । कमलीकान्तले भने, “मेरो संकलन हो । दर्जनौं सर्जकको शब्द रलय छ । उनीहरुले पनि त सुन्न पाउनुपर्छ । मेरो स्वर छ मलाई पनि त माया लाग्छ । मलाई मेरो गीत दिनुस् ।”
लगातारको आग्रहपछि रेडियोले भन्यो– “निवेदन लेख ।”

लेखे निवेदन र निकाले गीत ।

स्रोतालाई सुनाउन त सुनाउने तर कसरी ?

म्युजिक नेपाल गएर दर्ता गरे । सन्तोष शर्मा, शिलाबहादुर मोक्तानलगायतले बजारमा गीत पठाउने निर्णय गरे । ९ महिनापछि गीत बजारमा आयो ।

हिट्स एफएममा पहिलोपटक दिए । गीत बज्न थाल्यो । ९ महिनापछि प्रतिकृया आयो । हिट्सले अवार्ड पनि दियो । गीत जनजनमा लोकप्रिय भयो । कमलीकान्तलाई सञ्चारमाध्यमले खोज्न थाले । मेला महोत्सवका लागि फोन आउन थाल्यो ।

“मेला महोत्सवमा गाउनुपर्छ । स्टेजमा मलाई पनि बोलाइन्छ भन्ने न मैले सोचेको थिएँ, न मेरो कल्पनामा थियो । पढ्ने पढाउने काम थियो । (कमलीकान्त अंग्रेजी विषयका लेक्चर हुन्) त्यसमै रमाइरहेको थिएँ,” उनी भन्छन्, “टिपिकल लोक गीत संकलन गर्यो । रेडियोमा फ्रिमा रेकर्ड गर्यो, त्यसमै रमाइरहेको थिएँ । स्वर परीक्षा पास गरेपछि रेडियोमा गाउन पाउनु त्यो नै मेरा लागि अहोभाग्य थियो ।”
स्टेज कार्यक्रममा पैसा दिन्छन् भन्ने पनि उनलाई थाहा थिएन । तुम्लिङटार मिनी महोत्सवका लागि फोन आयो । गीत गाउन आइज भने । कमलीकान्तले कसरी गाउने भनेर सोधे । आयोजकले भने, ट्रयाक होला नि, त्यसमै गाउने नि !

रेडियो नेपालमा लाइभ रेकर्ड गरेको गीत । ट्रयाक हुने कुरै भएन । ७ दिनपछि महोत्सव थियो । ट्रयाक बनाउनै पर्ने भयो । कमलीकान्तले १३ हजार रुपैयाँ शिव मुखिया र श्रीराम रायमाझीलाई बुझाए । ट्रयाक बन्यो । जिन्दगीमा पहिलोपटक प्लेन चढेर कमलीकान्त तुम्लिङटार मिनी महोत्सव पुगे गीत गाउन ।

अरु स्टेज नै भत्काउँलाझैं गरेर उफ्रीउफ्री गीत गाउँछन् । तर कमलीकान्त त पहिलोपटक ट्रयाकमा गाउँदैथिए । कहाँबाट उठाउने कहाँ छोड्ने नै अलमलमा परे । अलिकती उत्साह, अलिकती संकोच अनि कलिकती त्रासकाबीच पहिलोपटक उनले स्टेजमा गाए, ‘झम्के गुलेली’ ।

कार्यक्रम सकियो । अरु कलाकारले कति पैसा पाए ? उनीहरुलाई नै थाहा होला । तर कमलीकान्त मात्रै स्टेज पर्फर्मेन्सको पहिलो अनुभव मनभरी संगालेर फर्किए । जिन्दगीमा पहिलोपटक प्लेन चढेको रोमाञ्चक पलमात्रै संगाले ।

० ० ०

धेरैलाई थाह छैन, कमलीकान्तका अरु गीत पनि छन् भन्ने । तीन दर्जन गीत उनले गाइसकेका छन् । लोक लयमा आधारित गीत गाउनु उनको रुची हो । अहिले त्यही विशेषता बन्दैछ
उनका गीत सुन्ने थुप्रै स्रोता त्यस्ता छन् जसले ‘झम्के गुलेली’भन्दा …त्यो अर्को गीत पो राम्रो रछ त । स्रोता मात्रै हैन श्रष्टा पनि भेटेका छन् कमलीकान्तले जो ‘झम्के गुलेली’भन्दा अरु गीत झन राम्रा भन्ने ।

जस्तै ?

कमलीकान्तले प्रमोद खरेललाई सम्झिए । “भोजपुरमा हुनुहुँदोरहेछ प्रमोद खरेल । उहाँले त्यहीँ मेरो गीत सुन्नु भएछ र त्यहीँबाट फोन गरेर भन्नुभयो, झम्के गुलेलीभन्दा त निर लौ पो राम्रो रहेछ । साँच्चै मिठो गाउनुभाको रछ ।”

च्याङग्रे समाजमा एम्बुलेन्स हस्तान्तरण कार्यक्रम थियो । अञ्जु पन्त र कमलीकान्त सँगै थिए । अञ्जुले भनिन्, “झम्के गुलेलीसँगै मलाई ‘मग मा मग’ झन् राम्रो लाग्छ त्यो गाउनुस्न है ।”

अंग्रेजी साहित्यमा स्नातकोत्तर गरे । पढ्छन्, पढाउँछन् । लोक गीतसंगीतमा रुची छ । गीतसंगीत संकलन गर्छन् । गाउँछन् । अहिले कमलीकान्त नेपाली लोकगीतमा बहु भाषाको प्रयोग किन, कसरी र के कारणले भइरहेको छ भन्ने विषयमा पीएचडी गरिरहेका छन् । अन्तिममा उनले भने, “टिपिकल लोक गीतसंगीतमै रस बस्यो । त्यसैले यसमै पीएचडी गर्ने सुर कसेँ । अहिले गाउँगाउँ जानु र तथ्य संकलन गर्नु मेरो दैनिकी जस्तै भएको छ ।”

बाह्रखरी डटकमबाट साभार गरिएको ।

तपाईको प्रतिक्रिया

सबै

सम्बन्धित समाचार